अफगानिस्तानको सम्पत्ति रोकेकोमा तालिबान नेता बराबर अमेरिकासँग रुष्ट

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ११ : ४१


अफगानिस्तानका उपप्रधानमन्त्री तथा तालिबान नेता मुल्ला गनी बरादरले अमेरिकाको कडा रुपमा आलोचना गरेका छन्।

अमेरिकाले अफगानिस्तानको सम्पत्ति रोक्का गरेकोमा बरादर अमेरिकासँग रुष्ट भएका हुन्।

तालिबान यसैवर्षको अगष्ट महिनामा देशको सत्तामा आएसँगै अमेरिकाले अफगानिस्तानको सरकारी बैंकको पैसा रोक्का गरिदिएको छ।

यतिबेला अफगानिस्तानमा आर्थिक संकट र भोकमरीको अवस्था छ। सरकारी सम्पत्ति विदेशमा रोक्का भएपछि तालिबान सरकारले आफ्ना नागरिकको भोक टार्न सकेको छैन।

बीबीसीका अनुसार मंगलबार बरादरले अमेरिकाले आफ्नो सम्पत्ति रोक्दा देशमा संकट निम्तिएको बताए। अमेरिकाका कारण अफगानिस्तानमा समस्या परेका बेला विश्वले चुप भएर बस्न नहुने उनको भनाइ थियो।

पाकिस्तान र चीनले अफगानिस्तानमा सक्दो सहयोग गरिरहेका छन्। विश्वले अफगानिस्तानलाई आर्थिक सहायता प्रदान गर्नुपर्ने पनि यी दुई राष्ट्रको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्