भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिन्छौँ : प्रधानमन्त्री ओली

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ९ : ४७


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले नेपालको सीमाको रक्षा गर्न र भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । सोमबार विहान आफ्नै सरकारी निवास वालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा उहाँले भारतीय नक्सामा नेपालको भूमि समावेश गरिएको विषयमा नयाँदिल्लीस्थित राजदुतावासमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको पनि जानकारी गराउनु भएको थियो ।

‘यस बारेमा हाम्रो नयाँ दिल्लीस्थित राजदुतमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको छ, प्रधानमन्त्रीको भनाई उधृत गर्दै प्रवक्ता श्रेष्ठले भन्नु भयो, ‘ ती समस्या समाधानका लागि छिट्टै उचित कूटनीतिक संयन्त्रमार्फत् भारतसँग वार्ता प्रक्रिया अघि बढाइनेछ ।’ बैठकमा प्रधानमन्त्री ओलीले द्धिपक्षीय वार्ताका लागि नेपाल सरकारले आफ्नो आधिकारिक दस्ताबेज तयार पार्ने कामलाई पनि अघि बढाएको पार्टीको सचिवालय बैठकमा ब्रिफिङ गर्नु भएको थियो ।

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरिएकोमा नेपाल सरकारले असहमति जनाईसकेको छ । उता, भारतले पनि सो समस्या समाधानका लागि सचिव स्तरीय वार्तामा बस्न सकिने जनाउ सरकारलाई दिईसकेको छ ।


प्रतिक्रिया दिनुहोस्