नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ।
सोमबार अपरान्ह साढे ४ बजेसम्म दुई हजार मत खसेको कांग्रेस निर्वाचन समिति प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए।
मतपत्र सकिएर केहीबेर राष्ट्रिय सभामा रोकिएको मतदान फेरि सुरू भइसकेको श्रेष्ठले बताए।
१३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ।
शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन्।
निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ।
कांग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसाल्नुभएको थियो। एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ।
कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ।
महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ।