सन् १९५० देखि १९५३ सम्म कोरियाली गृहयुद्ध चलेको थियो। युद्ध सकिएसँगै कोरिया दुई देश उत्तर र दक्षिण कोरियामा बाँडिएको थियो।
त्यसबेला युद्धविराम गर्ने सम्झौता भएता पनि यी दुई देशबीच युद्ध सकिएको भनेर कहिल्यै घोषणा भएन। अर्थात् शान्ति सम्झौता र सन्धि नहुँदा अझैपनि यी देश प्राविधिक रुपमा युद्धमै छन्।
यतिबेला भने दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर र दक्षिण कोरियाबीच कोरियाली युद्ध अन्त्य गर्ने विषयमा सैद्धान्तिक सहमति जुटेको बताएका छन्।
उनका अनुसार उत्तर कोरिया, दक्षिण कोरिया, अमेरिका र चीनबीच कोरियाली युद्ध अन्त्य गर्ने सैद्धान्तिक सहमति जुटेको हो। कोरियाली युद्धको क्रममा अमेरिका दक्षिण कोरियाको साथमा थियो भने चीन उत्तर कोरियाको साथमा थियो।
राष्ट्रपति मुनका अनुसार युद्धलाई औपचारिक रुपमा अन्त्य गर्ने भनेर सैद्धान्तिक सहमति जुटेता पनि उत्तर कोरियाको सर्तहरुका कारण थप छलफल अगाडि बढ्न सकेको छैन।
उत्तर कोरियाले दक्षिण कोरियामा अमेरिकी सेनाको उपस्थिती रुचाएको छैन। साथै उत्तर कोरिया आफूमाथि लागेका अन्तर्राष्ट्रिय प्रतिबन्धहरु हटोस् भन्ने चाहन्छ।
उत्तर कोरिया सोच्छ कि अमेरिकी व्यवहार उमाथि दुश्मनको जस्तो छ। यी कारणहरुकै कारण उत्तर कोरिया दक्षिण कोरिया र अमेरिकासँग छलफल गर्न चाहँदैन।
आफ्ना मागहरु पुरा भएको खण्डमा भने आफूले परमाणु हतियारको परीक्षण त्याग्ने उत्तरले बताउँदै आएको छ। बीबीसी