कोइराला, सिंह र निधिले मतदानस्थलको निरीक्षण गरे, मतपत्र छाप्न ढिलो भएपछि मतदान अझै सु्रु भएन

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : १४


काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको नेतृत्वको लागि हुने आज सोमबार बिहान ८ बजे तय भएकोमा मतदान अझै सुरु भएको छैन । तर, सभापतिका उम्मेदवारमध्येका शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले मतदान स्थलको निरीक्षण गरेका छन् ।

उनीहरु बिहान फरक–फरक समयमा मतदानस्थल पुगेका थिए । सभापतिका लागि कोइराला, सिंह र निधिसहित शेरबहादुर देउवा र कल्याण गुरुङ चुनावी मैदानमा छन् ।

निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले मतपत्र छाप्न ढिलाइ भएकाले मतदान सुरु हुन नसकेको बताए । ‘मतपत्र छापेर ल्याइएको छ केही छिनमै मतदान हुन्छ,’ उनले भने ।

मतदाता मतदान गर्न लामबद्ध भइसकेका छन् । भृकुटीमण्ड, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशको भृकुटीमण्डप र बाँकी राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्