काठमाडौंमा यो वर्षकै बढी चिसो, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : ००


काठमाडौं । आज काठमाडौं उपत्यकामा यो वर्षकै बढी चिसो महसुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ५ डिग्री सेल्सियस मापन गरिएको हो। आइतबार काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस थियो।

आज बिहान पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिक देखि सामान्यतया बदली रहनेछ ।

ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मंगलबार लुम्बिनी, गण्डकी र बागमतीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । मंगलबार राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हिमपातको सम्भावनाका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्