गाईभैँसीलाई न्यानो बनाउन ‘काउम्याट’

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ९ : ४७


रुपन्देहीको सैनामैना नगरपालिकाले पहिलो पटक गाईभैँसीको गोठलाई न्यानो बनाउन आज म्याट वितरण गरेको छ।

नगरपालिकाको समन्वयमा पशु विकास शाखाले साना कृषि औजार तथा यन्त्र, उपकरणअन्तर्गत ५० प्रतिशत अनुदानमा यहाँका २१ व्यावसायिक कृषक फर्ममा रहेका गाईभैँसीलाई ओछ्याउन १९८ वटा ‘काउम्याट’ वितरण गरेको हो।

त्यसैगरीे शाखाले २० कृषकलाई २० विद्युतीय च्यापकटर पनि वितरण गरेको छ।

कृषकलाई उक्त च्यापकटर र म्याट वितरण गर्दै सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले व्यावसायिक कृषि पेशा गर्ने किसानलाई यसको भरपुर फाइदा लिन आग्रह गरे।

रु ११ लाख बराबरको ५० प्रतिशत अनुदानमा उक्त कृषि औजार वितरण गरिएको उल्लेख गर्दैै उनले च्यापकटरले घाँस, पराल काट्न र म्याट ओछ्याएपछि गाईलाई न्यानो हुने, बिरामी नहुने र भर्खर जन्मेका बाच्छाबाच्छी, पाडापाडीलाई पनि सहयोग पुग्ने बताए।

नगरका ११ वडामा पशुपालन गर्दै आएका व्यावसायिक फर्मलाई गाईभैँसीका लागि आवश्यक पर्ने घाँस र पराल काट्न सहज होस् भन्ने उद्देश्यले उक्त च्यापकटर र न्यानोका लागि अनुदानमा म्याट वितरण गरिएको पशु विकास शाखा प्रमुख इन्द्रबहादुर खड्काले बताए।

पशुपालक कृषक फर्ममध्ये छनोटमा परेका कृषकलाई मात्र उक्त च्यापकटर प्रदान गरिएको नगरपालिकाले जनाएको छ।

कृषि औजारका लागि ३५ जनाको निवेदन पेश भएकामा २० जना मात्र छनोटमा परेका थिए।

आगामी वर्ष पनि कृषि औजार वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।

निमित्त प्रशासकीय अधिकृत हेमराज अर्यालले कृषि औजारलाई सदुपयोग गर्दै कृषक प्रविधिसँग जोडिँदै व्यावसायिकरुपमा अघि बढ्नुपर्नेमा जोड दिए।

कृषक सुरेन्द्रप्रसाद रेग्मीले व्यावसायिक पशुपालक कृषकले काउम्याट पाउनु खुसीको कुरा भएको भन्दै यसले किसानलाई उत्साहित बनाएको धारणा राखे।

नगरपालिले विभिन्न समयमा यहाँका कृषकलाई यन्त्र तथा उपकरण वितरण गर्दै आएको छ। रासस


प्रतिक्रिया दिनुहोस्