एमाले प्रमुख सचेतक भट्टराई बने पोलिटब्यूरो सदस्य

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ६ : ४५


खोटाङ ।नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई पोलिटब्यूरो सदस्यमा चयन भएका छन्।

केही समयअघि चितवनमा सम्पन्न १०औं राष्ट्रिय अधिवेशनमा केन्द्रीय कमिटीमा नपरेका प्रमुख सचेतक भट्टराईलाई एमाले केन्द्रीय कमिटीको जारी बैठकबाट केन्द्रीय सदस्यमा मनोनीत लगत्तै ९९ सदस्यीय पोलिटब्यूरो सदस्यमा समेटिएको छ।

प्रदेश नम्बर १ को अध्यक्ष दिनेगरी राष्ट्रिय अधिवेशनमा भट्टराईको नाम केन्द्रीय कमिटीमा नराखिएको भनिएको थियो।

कार्यव्यस्तता, निर्वाचन क्षेत्र र विकास निर्माणको कामले प्रदेशमा बसेर काम गर्न नसक्ने भनेपछि नेतृत्वले केन्द्रीय कमिटीमै मनोनीत गरेको भट्टराईले बताए।

प्रमुख सचेतकको नाम केन्द्रीय सदस्यको सूचीमा नसमेटिँदा थरिथरिका टीकाटिप्पणी भएको थियो।

कतिपयले उनको भूमिकालाई खुम्च्याउन खोजेको अर्थमा पनि बुझेका थिए । केन्द्रीय कमिटीमा नाम नआउँदा स्वयं भट्टराई असन्तुष्ट बनेको थिए।

एमालेले खोटाङकै रमेश पौडेललाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेको छ। पौडेल नेपाल खेलकुद महासंघका केन्द्रीय कमिटी अध्यक्ष हुन्।

राष्ट्रिय अधिवेशनबाट जनजाति खुलाबाट खोटाङका खगेन्द्र राई र प्रदेश १ भूगोलबाट (महिला) उषाकला राई एमाले केन्द्रीय सदस्य चुनिएका थिए।


प्रतिक्रिया दिनुहोस्