दाङ। दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जीप दुर्घटनामा परेको छ।
राप्ती राजमार्गअन्तर्गत तुलसीपुर(कपुरकोड सडक खण्डको तुलसीपुर उपमहानगरपालिका(३ सिरखोलामा रा१ज ४३८ नम्बरको जीप दुर्घटना भएको हो।
दुर्घटनामा परी दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कपुरकोट गाउँपालिका-३ का ४८ वर्षीय प्रेम प्रकाश शर्मा, २५ वर्षीया लालमती खडका र कपुरकोट गाउँपालिका(४ की साउनी घर्ती रहेका छन्।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराका अनुसार १२ सिटको जीपमा १८ जना सवार रहेकामा १४ जना घाइते भएका छन्। घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ।
गाडीको गेर फसेर लोड लगाएर गेर फेर्न खोज्दा गाडी ब्याग भएर दुर्घटना भएको पुजाराले जानकारी दिए।
दुर्घटनामा परी घाइते भएका सात जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। जीप सडकबाट करिब दुई सय मिटर तल खेतमा खसेको छ।