कांग्रेस महाधिवेशनः नातावाद तोड्न चुनावी मैदानमा छिन् ९१ वर्षीया शान्ति कार्की

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ३ : ००


काठमाडौं। काठमाडौंको राष्ट्रियसभा गृह चारतारे र रुख अंकित झण्डाले सजिएको छ। झण्डामुनि कांग्रेस निर्वाचन समितिका सदस्यहरू उम्मेदवारी दर्ताका लागि लहरै बसेका छन्।

त्यही लहरमा हातमा १० हजार रुपैयाँ बोकेर नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्दै गरेकी भेटिइन्, पर्साकी ९१ वर्षीया शान्ति कार्की।

कार्की त्यस्ती प्रतिनिधि हुन्, जुन तराईबाट प्रतिनिधित्व गर्छिन् । तर, उम्मेदवारी भने महिला तर्फको खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिइन्।

Avatar

महाधिवेशन प्रतिनिधिमध्ये सम्भवतः सबैभन्दा जेठी कार्कीलाई अझै कांग्रेसलाई जनताको पार्टी बनाउने रहर छ। त्यसैले भन्छिन्, ‘कांग्रेसलाई नातावाद, कृपावादबाट माथि उठाउने र पार्टीलाई केन्द्रीयकरण मात्र गर्ने प्रवृत्तिविरुद्ध मेरो उम्मेदवारी हो।’

वयोवृद्ध भएर पनि कांग्रेसको नेतृत्वमा युवापुस्ताको हस्तक्षेप हुनैपर्ने बताउने उनी आफ्नो उम्मेदवारी यसैका लागि भएको बताउँछिन्। वृद्ध उमेरमा पनि युवाजोशका साथ महाधिवेशनस्थलमा मत माग्दै हिँडेकी उनले अहिलेसम्म कसैको प्यानलमा नलागेको बताएकी छन्।

महिला संघको केन्द्रीय सदस्यसमेत भइसकेकी उनी पटक पटक महाधिवेशन प्रतिनिधि भइसकेकी छन्। केन्द्रीय कमिटीमा भने यो उनको दोस्रो उम्मेदवारी हो।

२२ वर्ष अघि पनि केद्रीय सदस्यमा पराजित भएको बताउने उनी यसपटक भने महाधिवेशन प्रतिनिधिले जिताउनेमा विश्वस्त छिन् । राजनीतिक आन्दोलनका क्रममा आफू १५ वर्ष जेल जीवन बिताएको बताउने उनी अविवाहित रहेको जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस्