भारतीय सेनाको आक्रमणबाट गम्भीर घाइते भएका यी सेना भन्छन्ः युद्ध मैदानमा जान तयार छु

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ५ : ४१


सन् २०२० अर्थात् गतवर्षको जुन १५ मा गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच हिंस्रक झडप भएको थियो।

त्यसबेला भारतका २० सेना र चीनका ५ सेनाको मृत्यु भएको थियो। सीमांकन नगरिएको क्षेत्र एलएसीमा भारत र चीनबीच दशकौंयता सीमा विवाद छ।

लद्दाख नजिकैको गलवान उपत्यकालाई यी दुवै राष्ट्रले दाबी गर्दै आएका छन्। एलएसीको नियमअनुसार यो क्षेत्रमा दुवै तर्फको सेना जान नपाउने नियम छ।

तर यो झडपपछि भारत र चीन दुवैले एकअर्कालाई एलएसीको नियम तोडेर गलवानमा घुसेकाले झडप भएको आरोप लगाउँदछन्।

सीमा क्षेत्रमा भारत र चीन दुवै राष्ट्रले गोली नचलाउने सहमति गरेका छन्। गतवर्ष दुवै देशका सेनाले गोली नचलाएता पनि ढुंगा, मुडा र भाला प्रयोग गरेका थिए।

त्यसबेला भारत र चीनका दर्जनौं सेना घाइते भएका थिए। तीमध्येका एक कि फाबिओ पनि एक सेना हुन् जो झडपपछि गम्भीर घाइते भएका थिए। चिनियाँ जनमुक्ति सेनाका लेफ्टिनेन्ट कर्णेल उनी कोमामा गएका थिए।

उनको टाउकोमा गम्भीर चोट लागेको थियो जसकारण उनी महिनौं बेहोस भएका थिए। यतिबेला उनी निको भाइसकेका छन्। उनी आफू सीमा क्षेत्रमा फेरि तैनाथ हुन आतुर भएको बताउँछन्।

उनले सीसीटीभीसँग भनेका छन्,‘म अब युद्धको मैदानमा जान तयार छु, फेरि देशको लागि लड्नेछु।’ गतवर्ष उनले भारतविरुद्ध सिनजियाङ मिलिटेरी डिस्ट्रिक्टका सेनाको नेतृत्व गरेका थिए।

उनले त्यसबेलाको घटना सम्झिँदै भनेका छन्,‘जब हामी भारतीय सेनासँग छलफल गर्न जानको लागि खोला तरिरहेका थियौं भारतीय सेनाले हामीलाई आक्रमण गरे।’

उता भारतीय सेनाले भने चिनियाँ पक्षले आक्रमण थालेपछि नै आफूले आक्रमण गरेको बताउने गरेको छ।

हाल भारत र चीनका सेनाबीच १२ पटक सैन्यस्तरमा विवाद टुंगो लगाउने विषयमा छलफल भएता पनि हालसम्म सीमा विवाद साम्य हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस्