काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले सम्बोधन नसक्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मञ्च छाडेका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिने क्रममा ओली ड्यासमा पुग्दा प्रचण्ड र नेपाल आफ्नो सोफामा थिएनन्।
ओली महाधिवेशनको उद्घाटन सुरु भएपछि केही ढिला गरी आएका थिए। तर, उनी प्रचण्ड र नेपाल लहरैको सोफामा बसेनन्। उनी प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पल्लोपट्टि गए, जहाँ नेता रामचन्द्र पौडेल बसेका थिए। पौडेल सोफाबाट उठेपछि ओली बसेका थिए।
ओलीले प्रचण्ड र नेपालको भाषण सुने पनि ओलीले भाषण गर्न थालेपछि प्रचण्ड र नेपाल पहिले नै उठेर हिँडेका थिए।