अमेरिकाले लोकतन्त्रको विषयमा एउटा बृहत सम्मेलनको आयोजना गरेको छ। बुधबारदेखि सुरु भएको ‘लोकतन्त्रको शिखर सम्मेलन’ आज शुक्रबार सम्पन्न हुँदैछ।
यो भर्चुअल सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले ११० देशका प्रतिनिधिलाई निमन्त्रणा। दिएका छन्। तर यो कार्यक्रमको लागि रुस र चीनलाई भने निमन्त्रणा दिइएको छैन।
बाइडेनले रुस र चीनलाई निम्तो नदिएपछि अमेरिका र यी देशहरुबीच तिक्ततापूर्ण सम्बन्ध छ भन्ने स्पष्ट हुन्छ। साथै अमेरिकाले यी देशलाई लोकतान्त्रिक देश मान्दैन भन्ने बुझिन्छ।
उता चीनले आफ्नो प्रान्त मान्ने ताइवानलाई पनि अमेरिकाले निम्तो पठाएको छ। यो सम्मेलनमा ताइवानको प्रतिनिधि पनि सहभागी छन्।
यसको अर्थ अमेरिका अघोषित रुपमा ताइवान स्वतन्त्र होस् भन्ने चाहन्छ। यो घटनाले चीन अमेरिकासँग रुष्ट बनेको छ। चीनले कडा शब्दमा अमेरिकाको आलोचना गरेको छ।
ताइवान हेर्ने चीनको स्टेट काउन्सिल ताइवान अफेयर्स अफिसले भनेको छ,‘यो अमेरिकाको गल्ती हो। अमेरिकाले यस्तो गल्ती दोहोर्याइरहेको छ।’
चीनले ताइवान आफ्नो प्रान्त भएको बताउने गर्दछ। जसकारण ताइवानलाई भिन्दै मुलुकलाई झैं निमन्त्रणा दिएर आधिकारिक छलफलमा डाक्नुलाई चीनले रुचाएको छैन।
ग्लोबल टाइम्सका अनुसार ‘चीन अमेरिका र ताइवानबीच हुने कुनै पनि औपचारिक छलफलको पूर्ण रुपमा विरोध गर्दछ।’
पाकिस्तान सहभागी भएन लोकतन्त्र सम्मेलनमा
यसैबीच चीनसँग राम्रो सम्बन्ध भएको पाकिस्तानले अमेरिकाले डाकेको लोकतन्त्र सम्मेलन बहिष्कार गरेको छ। हाल जारी सम्मेलनमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएको बीबीसीले जनाएको छ।
अमेरिकामा जो बाइडेन राष्ट्रपति बनेयता बाइडेन र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच एकपटक पनि टेलिफोन वार्ता भएको छैन। यसबीचमा दक्षिण एसियाली राष्ट्रहरुलाई पनि लोकतन्त्र सम्मेलनमा बोलाइँदा पाकिस्तान चीन र रुसलाई नबोलाइएको सम्मेलनमा नगएको हो।
पाकिस्तानको विदेश मन्त्रालयले औपचारिक रुपमै पाकिस्तान सहभागी नहुने जनाएको छ। पाकिस्तानले भनेको छ,‘अमेरिकासँग हाम्रो साझेदारीले महत्व राख्दछ र हामी यो आशा गर्छौ कि क्षेत्रीय र अन्तराष्ट्रिय मोर्चामा दुवै देशको सम्बन्ध विस्तार होस्। हामी लोकतन्त्र र मानवअधिकारको मुद्दामा अमेरिकाको सम्पर्कमा रहनेछौं।’
चीन भन्छः पाकिस्तान सच्चा भाई
आफूलाई निमन्त्रणा नदिएको सम्मेलनमा पाकिस्तान पनि नजाने भएपछि चीन खुशी भएको छ। चीनले पाकिस्तालाई ‘एक सच्चा भाई’ भनेको छ।
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता चाओ लिजियान भन्छन्,‘पाकिस्तानले लोकतन्त्र सम्मेलनमा सहभागी हुन अस्वीकार गरेको छ। उ हाम्रो सच्चा भाई हो।’