एउटै मञ्चमा ओली, नेपाल र प्रचण्ड

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  २ : ५९


काठमाडौं । नेकपा एमाले विभाजनपछि पहिलो पटक एउटै मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिएका छन्।

काठमाडौंमा आजबाट सुरु भएको कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन उनीहरु एउटै मञ्चमा उपस्थित भएका हुन्।

सुरुमै प्रचण्ड र नेपाल महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेका भए पनि ओली ढिलोगरी पुगेका हुन् । गत १० मंसिरमा भएको एमालेको १०औँ महाधिवेशनमा नेता नेपाल र उनको पार्टीलाई निमन्त्रण गरिएको थिएन। निमन्त्रण गरिएको माओवादी केन्द्रबाट प्रचण्ड आफू नगएर लिलामणि पोखरेललाई पठाएका थिए।

एमाले महाधिवेशनमा नगएका प्रचण्ड र नेपाल कांग्रेस महाधिवेशनमा सहभागी हुने क्रममा ओलीसँग आमनेसामने भएका हुन्। एमाले विभाजन भएर नेकपा (एस) गत ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको थियो।

एमाले विभाजनपछि ओली, नेपाल र प्रचण्ड पहिलोपटक शुक्रबार कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा एउटै मञ्चमा देखिएका हुन्। ओली देउवा र रामचन्द्र पौडेलको बीचमा बसेका छन्।


प्रतिक्रिया दिनुहोस्