इस्लामाबाद। पाकिस्तानमा प्रहरी र न्यायपालिका देशकै भ्रष्ट संस्था भएको एउटा सर्वेक्षणले देखाएको छ।
ट्रान्सपरेन्सी इन्टरनेसनल पाकिस्तान टीआईपीले गरेको एउटा वृहत सर्वेक्षणले प्रहरी र न्यायपालिका देशको सवैभन्दा भ्रष्ट संस्था भएको देखाएको हो।
प्रहरी र न्यायपालिकापछि टेन्डर तथा ठेकदारसम्बन्धी संघ– संगठन देशकै तेस्रो भ्रष्ट संस्था रहेको टीआईपीले जनाएको छ। दैनिक रुपमा सर्वसाधारणले सामना गरेको गतिविधिका आधारमा सो सर्वेक्षण तयार पारिएको हो।
सर्वेक्षणअनुसार देशका ८५ दशमलव ९ प्रतिशत मानिसहरुले केन्द्रीय सरकारप्रति असन्तुष्ट छन्। त्यस्तै, पाकिस्तानको ठूलो जनसंख्या अर्थात ७२ दशमलब ८ प्रतिशतले सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार तल्लो तहसम्म पुगेको बताएका छन्।
सर्वेक्षणअनुसार इमरान खानले नेतृत्व गरेको पाकिस्तान तेहरिक–इ–इन्साफ पीटीआई सरकारको शासनकालमा अहिलेसम्मकै बढी मुल्यवृद्धि भएको जनाइएको छ। पछिल्लो तीन वर्षमा आफ्नो आम्दानी निरन्तर घटिरहेको ८५ दशमलब ९ प्रतिशत पाकिस्तानीले गुनासो गरेको सर्वेक्षणमा उल्लेख छ।
टीआईपीले भ्रष्टाचार र आर्थिक अनियमितताबारे अहिलेसम्म पाँच पटक सर्वेक्षण गरेको छ। पछिल्लो पटक सन् २०११ मा सर्वेक्षण गरेको टीआईपीले १० वर्षको अन्तरालपछि देशका चारै प्रान्तहरुमा यही अक्टोबर महिनामा देशव्यापी सर्वेक्षण गरेको थियो।