नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।
शुक्रबारदेखि सुरु हुने महाधिवेशनका लागि देशभरबाट ४६ सय प्रतिनिधि सहभागी हुुँदैछन्। यतिबेला महाधिवेशनस्थल भृकुटीमण्डपमा सिंगारिँदै छ।
महाधिवेशनस्थल सिंगार्न रोशन आर्टस् सर्भिसले जिम्मा लिएको छ। बुधबारदेखि नै आर्टसका ३५ जना कामदार महाधिवेशन सिंगार्न खटिरहेका छन्।
अहिले महाधिवेशनस्थलमा स्टेज धमाधम बनिरहेका छन्। साउन्ड सिस्टम, विद्युतको व्यवस्थापन भइरहेको छ।
‘हामीले सिंगार्न थालेको, स्टेज बनाउन थालेको तीन दिन भयो। दिनको २०(२२ घन्टासम्म ३५ जना कामदारले काम गरिरहेका छन्’, रोशन आर्टस् सर्भिसका प्रोपाइटर रोशन जैसवालले भने।
जैसावालका अनुसार सुरुमा स्टेज निर्माण तथा सजावटका लागि ३५ लाख रुपैयाँमा सम्झौता भएको थियो। तर, आयोजकको डिमान्डा सम्झौताभन्दा बढी हुन थालेपछि अहिले खर्च बढ्ने भएको छ।
जैसवाल भन्छन्, ‘सुरुमा ३५ लाखमा सम्झौता भएको हो। तर, अहिले ५० लाखभन्दा बढी खर्च लाग्छ जस्तो छ।’ निर्माणको जिम्मा लिएको कम्पनीले भोलि बिहानसम्म कार्यक्रम स्थल निर्माण गरिसक्ने उनले बताए।