ललितपुरस्थित बज्रवाराही धार्मिक वन अतिक्रमण भएपछि पुरातत्वले गर्‍यो निरीक्षण

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  १० : ४५


ललितपुर। ललितपुरको बज्रवाराही धार्मिक वन अतिक्रमण गरी सडक विस्तार सुरु गरेको भन्दै स्थानीयबासी विरोधमा उत्रिएपछि पुरातत्व विभागकाले निरीक्षण गरेको छ।

नेवा एकता नागरिक समाजका अध्यक्ष राजु व्यञ्जनकारले बज्रवाराही धार्मिक वन अतिक्रमणमा परेकोले संरक्षणका लागि निवेदन दिएपछि पुरातत्व अधिकृत प्रकाश खड्काले नेतृत्वको टोलीले निरीक्षण गरेको हो।

खड्काले प्रारम्भिक अध्ययनका क्रममा पर्खाल निर्माणका क्रममा दुई वटा खट बिसाउने ठाउँ र कुल पूजालाई असर परेको देखिएको बताए। सरोकारवालासँग छलफल र निरीक्षणका आधारमा धार्मिक वन अतिक्रमणबारे रिपोर्ट बन्ने उनले बताए। उनले भने, ‘त्यसपछि के गर्ने भन्ने पुरातत्वले निर्णय गर्छ ।’

गोदावरी नगरपालिकाले पर्खाल निर्माण गरेपछि बज्रवाराहीको मरष्ठी जात्राको खट विसाउने ठाँउमा अवरोध पुगेको स्थानीयबासीले बताएका छन्। स्थानीय अनिल महर्जजले बज्रवाराही मन्दिरबाट नवर्निर्मित बज्रवाराही नगरपालिकाको भवन हुँदै चापागाँउतर्फ खट लैजाने चलन रहेको बताए। ‘खट विसाउने ठाँउमै पर्खाल लगाइएको छ। तोरणभन्दा अगाडि १ फिट मात्रै छोडिएको रहेछ,’ उनले भने।

बज्रवाराही मन्दिरका पुजारी वावुदेव कर्माचार्यका अनुसार यो जात्रा मंसिर महिनामा हुने गरेको थियो। अष्टमात्रिकाको मूर्ति चोरी भएपछि अहिले केही वर्षदेखि बुलुका स्थानीयबासीले मनाउने गरेका छन्। उनका अनुसार बासीले नयाँ मूर्ति बनाएर अहिले यो जात्रा चलाउने गरेका हुन्।

अष्टमात्रिकाको खटसँगै गणेशको खट पनि ल्याउने गरिन्थ्यो। त्यो खट विसाउने ठाउँ अगाडि पर्खाल लगाइएको छ।

श्रीमाई बज्रवाराही धार्मिक वन संरक्षण संर्घाष समितिका संयोजक राजेन्द्र देशारले नवनिर्मित गोदावरी नगरपालिकाको भवन अगाडि सडक निर्माणको क्रममा पर्खाल लगाउदा मरष्ठी जात्राको दुई वटा खट बिसाउने ठाँउ र स्थानीयबासीको कुल पूजा गर्ने स्थल समेत अतिक्रमणमा परेको बताए।

नगरपालिकाले केही समयअघिदेखि आफ्नो नवनिर्मित भवनअगाडि करिब ५ सय मिटर सडक विस्तारका लागि उपभोक्ता समिति मार्फत ८५ लाख लागतमा सडक विस्तार गर्न सुरु गरेको थियो । नजिकै सडक विभागले गरेको सडक विस्तारका क्रममा भने जंगल अतिक्रमण नगरिसार्वजनिक जग्गामा बाटो विस्तार गरिरहेको छ।

बज्रवाराही जंगल अतिक्रमण नगरि सडक विस्तार गर्न पर्याप्त सार्वजनिक जग्गा हुँदाहुँदै नगरपालिकाले धार्मिक जंगल अतिक्रमण गरेको भन्दै स्थानीयबासी आन्दोलित छन्। स्थानीयबासीले पर्खाल लगाउने क्रममा दुई वटा रुख काटेको आरोप लगाएका छन्। यद्यपी सडक निर्माणमा सलग्न मजदुरहरुले भने ढलेको रुख काटेको बताएका छन्। वज्रवाराही जंगलको पात पनि घरमा लैजान नहुने मान्यता रहेको स्थानीयबासीहरु बताउछन्। परावुर्व कालदेखि कुवँरहरुले भने यहाँका रुख काटेर लैजाने गरेको एक स्थानीयले बताए।

वज्रवाराही वन संरक्षणको जिम्मा लिएको ज्योतिदय संघका अध्यक्ष नारायण देशारले मुल सडकको आधा हुने सडक मापदण्ड अनुसार नै सडक विस्तार गरिएको बताए। उनले भने, ‘अन्य ठाँउमा पनि जंगल मासेर सडक बनाइएको छ।’


प्रतिक्रिया दिनुहोस्