विप्लव लगायत ८ पार्टीद्वारा एमसीसी विरुद्ध संघर्ष घोषणा, संसद भवन घेराउ गर्ने

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ३ : ०४


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित ८ राजनीतिक दलले अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध संघर्षको घोषणा गरेका छन।

अमेरिकाको वासिंगटनमा एमसीसीको बैठक बसिरहेका दिन नेपालमा संसद बैठक आवह्वान गरेपछि विभिन्न दलहरु सशंकित भएका छन।

विरोधीदलहरुले एमसीसी विरुद्ध सडक प्रदर्शनदेखि संसद भवन घेराउ सम्मका कार्यक्रम सार्वजनिक गरेका छन।

मङ्सिर २७ गते एमसीसीको काठमाडौँस्थित एमसीए कार्यालय घेराउ गर्ने, मङ्सिर २८ गते संसद भवन घेराउ गर्ने, मङ्सिर २४ गते २६ राजनीतिक दलरसङ्गठनहरूले घोषणा गरेको कार्यक्रमलाई समर्थन गर्दै सफल पार्ने र आगामी परिस्थितिलाई हेरी थप सङ्घर्षका कार्यक्रमहरू घोषणा गरिने उनीहरुले बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी (माले)का महासचिव सीपी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा, नेपालका अध्यक्ष चित्रबहादुर केसीले बुधबार संयुक्त प्रेस विज्ञप्तिमार्फत सङ्घर्षको कार्यक्रमलाई सशक्त पार्न देशका कम्युनिस्ट क्रान्तिकारीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त शक्तिहरू र आम नेपाली जनतालाई व्यापक सहभागिताको निम्ति हार्दिक अपिलसमेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्