‘चीनले दोब्बर दरमा अन्तरिक्ष क्षमता विकास गर्दै, आठ वर्षभित्र अमेरिकालाई उछिन्ने’

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  २ : ३७


अन्तरिक्ष क्षमतामा चीनले अमेरिकालाई आगामी सन् २०३० भित्र उछिन्ने अमेरिकी विज्ञहरुले प्रक्षेपण गरेका छन्।

अमेरिकी स्पेस फोर्सका उपप्रमुख जेनरल डेभिड थम्पसनले चीनले अमेरिकाभन्दा दोब्बर दरमा अन्तरिक्ष क्षमता विकास गरिरहेको जानकारी दिएका हुन्। यसकारण चीनले सन् २०३० भित्रमा अमेरिकालाई अन्तरिक्ष क्षमताको होडमा उछिन्नु आश्चर्य नहुने उनको भनाइ छ।

सीएनएनका अनुसार रेगन नेसनल डिफेन्स फोरममा अन्तरिक्ष विज्ञहरुको अगाडि बोल्दै थम्पसनले यो दशकको अन्तिमसम्ममा चीनले अमेरिकालाई उछिन्न सक्नेभन्दै चिन्दा व्यक्त गरेका हुन्।

‘वास्तवमा उनीहरूले हामी भन्दा दोब्बर दरमा अन्तरिक्ष क्षमताहरू अद्यावधिक गर्दैछन् भन्ने तथ्यले के जनाउँछ भने यदि हामीले पनि अन्तरिक्ष क्षमताहरूलाई गति दिन थालेनौं भने तिनीहरू हामीभन्दा अगाडि हुनेछन्’ जनरल थम्पसनले भने,‘सन् २०३० एक अव्यावहारिक अनुमान होइन।’

सो क्रममा सशस्त्र सेवा समितिको रणनीतिक बल उपसमितिका अध्यक्ष जिम कुपरले पनि थम्पसनको कुरामा सहमति जनाए। उनका अनुसार अमेरिकाको अन्तरिक्ष क्षमतालाई बढाउन अमेरिकी उद्यमीहरु इलोम मस्क र जेफ बेजोसभन्दा धेरै अब्बल तरिकाले सोच्नुपर्छ।

जेफ बजोस र इलोन मस्कले हाल अन्तरिक्षलाई पर्यटन क्षेत्र बनाउने सोच बनाएका छन्। उनीहरुले रकेटहरु पनि निर्माण गरिरहेका छन्। कुपर भन्छन्,‘निजी क्षेत्रले विज्ञान र प्रविधिको क्षेत्रमा राम्रो प्रगति गरिरहेको छ। तर हाम्रो हवाई सेना र स्पेस फोर्स अझ बढी रचनात्मक हुन जरुरी छ।’

‘साँच्चै अब्बल हुनको लागि हामी मस्क र बेजोसको सोचभन्दा अगाडि हुनुपर्छ उनीहरुको मुठ्ठीभर सोचमा सीमित बन्नुहुन्न’ उनी भन्छन्,‘अहिले अन्तरिक्षको लागि अमेरिकी सरकारले १७ अर्ब डलर खर्च गर्दछ। तर त्यो अन्तरिक्ष क्षमतामा अगाडि हुन पर्याप्त छ त?’

चीनले यतिबेला अन्तरिक्षमा आफ्नै स्पेस स्टेसन खडा गरिरहेको छ। जसले अबको केही वर्षपछि दबदबा कायम गर्नेछ। किनभने अमेरिका, रुस, जापान लगायतले निर्माण गरेको अन्तर्राष्ट्रिय स्पेस स्टेसन निकै पुराने भइसकेको छ। त्यो बिग्रने अवस्थामा पुगिसकेको छ।

China's Tiangong space station: what it is, what it's for, and how to see it

स्पेस स्टेसन अन्तरिक्षयात्रीको घर हो त्यहाँ बसेर अन्तरिक्षयात्रीले अन्तरिक्षको साथै पृथ्वीको अध्ययन गर्न सक्दछन्। हाल सक्रिय रहेको अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा चीनलाई प्रतिबन्ध लगाइएको छ।

अमेरिकाले चीनलाई सुरक्षा खतराभन्दै प्रतिबन्ध लगाएको हो। अब चीनको स्पेस स्टेसन संचालनमा आए अन्तरिक्षमा चीनको रजाई हुने निश्चित छ।

चीनले चन्द्रमामा आफ्नो यान पठाउन थालेको छ भने उसले चन्द्रमामा आलु फलाउने प्रयास पनि गरेको थियो। चीनले रातो ग्रह मंगलमा पनि अन्तरिक्षयान पठाउने प्रयास गरिरहेको छ।

समग्रमा पछिल्लो समय चीन विज्ञान र प्रविधिको क्षेत्रमा निकै अगाडि बढिसकेको छ। यसरी चीन अन्तरिक्षमा पनि बलवान भइरहँदा अमेरिका चिन्तित छ। सीएनएन र एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्