राजनीतिलाई अदालतको विषय बनाउन हुँदैन : पोखरेल

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : ३५


नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिलाई अदालतको विषय बनाउन नहुने बताउनुभएको छ।

अनेरास्ववियुले आज यहाँ आयोजना गरेको ‘सङ्गठन विस्तार तथा सदस्यता वितरण महाअभियान’ कार्यक्रममा उहाँले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले निर्वाचनमा जानुको विकल्प नभएको उल्लेख गर्नुभयो।

जबसम्म पार्टी रुपान्तरण हुन सक्दैन तबसम्म लोकतन्त्रको रक्षा हुन नसक्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ थियो । चितवन महाधिवेशनबाट एमाले थप एकताबद्ध भएको उहाँले बताउनुभयो । “एमाले जनता र कार्यकर्तामा भिजेको पार्टी हो”, उहाँले भन्नुभयो।

एमाले नै मुलुकको नेतृत्व गर्ने पार्टी भएको पोखरेलले जिकिर गर्नुभयो। अब पार्टीको यात्रा जनताको बहुदलीय जनवादको मार्गसिद्धान्तमा समाजवादको आधार तयार गर्ने आधार भएको उहाँले उल्लेख गर्नुभयो।

“नेपालको परिवर्तनको यात्राको नेतृत्व वामपन्थी र कांग्रेस मिलेर गरेको हो”, पोखरेलले भन्नुभयो, “अब नेपाललाई कुन बाटोमा हिँडाउने भन्नेमा राजनीतिक दलले आफ्नो पार्टीभित्र बहस चलाउनुपर्छ।”

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले देशभरिका युवालाई अनेरास्ववियुमा सङ्गठित गर्नका लागि अभियान सञ्चालन गरेको बताउनुभयो। अभियानमा १० लाख विद्यार्थीलाई आबद्ध गराउने उहाँको भनाइ थियो।

अनेरास्ववियुका महासचिव समिक बडालले त्रिचन्द्र क्याम्पस र रुपन्देहीको गैडहवा गाउँपालिका–२ स्थित जोगडा माविबाट महाअभियान सुरु गरिएको जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस्