कांग्रेस बागमती प्रदेश अधिवेशनः मतदान सकियो, चुनाव जित्नेमा बानिया विश्वस्त

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ३३


मकवानपुर । नेपाली कांग्रेसको बागमती प्रदेश समितिको सभापति पदका लागि भएको दोस्रो पटकको निर्वाचन सकिएको छ।

निर्वाचनमा २०२५ मत खसेको छ।

प्रदेश राजधानी हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानमा १६ मंसिरबाट जारी अधिवेशनमा हिजो राती सभापतिका तीन उम्मेदवार मध्ये कसैको पनि बहुमत नआएपछि आज फेरि निर्वाचन भएको हो।

सभापति पदमा शेरबहादुर देउवा पक्षका नेपाली कांग्रेस मकवानपुरका सभापति, बागमती प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर बानिया, रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी र कृष्ण सिटौला पक्षका भीमसेनदास प्रधानबीच भएको चुनावमा कसैको पनि बहुमत नआएपछि चुनाव भएको थियो।

गएराति सकिएको चुनावमा २ हजार ८३ जना प्रतिनिधिले मतदान गरेकोमा बानियाले ९ सय ९२ मत प्राप्त गरेका थिए।

राति मत गणना गरेर सकिएपछि बढी मत ल्याए पनि सभापति पदका लागि बानियाले जम्मा ४८ प्रतिशत मात्र मत पाएकाले सभापति हुन अयोग्य भएका थिए।

सभापतिका अर्का उम्मेदवार केसीले ८ सय ७७ मत पाएका थिए भने प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए।

बानिया सहित तीनै जना सभापतिका उम्मेदवारले पार्टीको विधान अनुसार ५१ प्रतिशत मत प्राप्त नगरेकाले फेरि मतदान भएको हो।

दोस्रो पटकको निर्वाचनमा तेस्रो भएका अर्थात् चुनावी दौडबाट बाहिरिएका प्रधानले आइतबार पत्रकार सम्मेलन नै गरेर बानियालाई आफ्नो टिमको समर्थन रहेको घोषणा गरेका थिए। यसपछि बानिया र केसीका बीच चुनाव भएको हो।

दोस्रो पटकको भोटिङमा प्रधानको समेत समर्थन रहेकाले बानिया आफूले जित्नेमा विश्वस्त रहेको बताउँछन्। अब केही बेरमै मतगणना कार्य सुरु गरिने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्