काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएका कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको भन्दै आपत्ती जनाएका छन् ।
आइतबार विहान पराजित भएलगत्तै उनले विजयी भएका राजेन्द्र लिङ्देनलाई बधाई दिँदै पूर्वराजाले चुनावमा हस्तक्षेप गरेको बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। बधाई ज्ञानेन्द्र शाह । धन्यवाद । मैले राहत र उन्मुक्ति पाएको छु।’
उनले सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाएको भन्दै राजाले आफूलाई राजनीतिकरुपमा समाप्त पार्न चेष्टा गरेको आरोप पनि लगाएका छन् ।
‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’ थापाले लेखेका छन् ।
आइतबार बिहान सकिएको मतगणनाअनुसार थापालाई हराउँदै लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् ।