काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई माला लगाउन नचाहेर मार्क्स र माओलाई माला लगाउन जानेहरुले यो देश बनाउन नसक्ने बताए।
शनिबार जावलाखेलमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा उनले नेपाल पृथ्वीनारायण शाहको विचारले बनेको बताउँदै भने,‘यो देशमा माओको नाम लिन हुने, माओको गुणगान गाउन हुने। यो देशमा महेन्द्रको गुणगान गाउन नहुने? किन नहुने?’ मिश्रले भने।
उनले आफूलाई राजसंस्थावादी भनेर आरोप लगाइएको प्रति स्पष्टीकरण पनि दिए।
उनले भने,‘म न राजसंस्थावादी हुँ, न त गणतन्त्रवादी हुँ। न धर्मनिरपेक्षतावादी हुँ, न धर्मसापेक्षतावादी हुँ। न संघीयतावादी हुँ, न संघीयता विरोधी हुँ। म नेपालवादी हुँ। म यो देशको हित जतिबेला जसरी हुन्छ, म त्यही वादी हुँ। जसलाई जे भन्नुपर्छ, भने हुन्छ।’