एनएमबी बैंकलाई ‘बैंक अफ दि इयर एसिया २०२१’ र ‘बैंक अफ दि इयर २०२१’ अवार्ड

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ११ : ५२


नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतप्राप्त एनएमबी बैंकले बेलायतको लण्डनबाट प्रकाशित हुने म्यागाजिन बैंकर को ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड जितेको छ।

चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानजस्ता एसियाकै कडा प्रतिस्पर्धीहरूलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको हो।

एनएमबी बैंक यो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली बैंक हो। यो सँगै एनएमबीले ‘द बैंक अफ द इयर २०२१’ को अवार्ड पनि जितेको छ। एनएमबीको यो ५ वर्षमा चौथो अवार्ड हो।

बैंकका अध्यक्ष सुनील केसीले प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट अवार्ड ग्रहण गरे। उपाधिका लागि बैंकलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ जस्तो विश्व प्रतिष्ठित अवार्डद्वारा सम्मानित भएर एनएमबी बैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि मान्नुपर्ने बताए।

सन् २००० मा स्थापित ‘बैंक अफ द इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्यपूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेशभरकै सर्वोत्कृष्ट बैंकहरूलाई छुट्टा–छुट्टै प्रदान गरिन्छ। यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्याङ्कन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ।


प्रतिक्रिया दिनुहोस्