अब हाम्रो नारा ‘जनता आउ, राजा ल्याउ’: कमल थापा

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ५ : २८


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणाली आवश्यक परेको बताएका छन्।

भृकुटीमण्डपमा आयोजित राप्रपाको एकता महाधिवेशन उद्घाटन समारोहमा बोल्दै थापालेआफ्नो पार्टी परिवर्तनको विरोधी नभए पनि अहिलेको व्यवस्थाको समीक्षा हुनुपर्ने भन्दै उनले राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणाली देशलाई आवश्यक परेको बताए।

‘हामी पुरानो व्यवस्थामा फर्किन खोजेको होइन। सबै नेपाली अटाउने मौलिक प्रजातन्त्रको कुरा गरेका हौं। राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणालीको निर्माण गरौं,’ थापाले भने।

काठमाडौंको सडकमा एक लाखभन्दा बढी मानिस उतारेर राजा फर्काउनले थापाले बताए। उनले हिन्दू राष्ट्रको स्थापनाका लागि पनि संविधानको दुईतिहाइ पर्खेर नबस्ने बताए।

थापाले भने, ‘अब हाम्रो नारा राजा आऊ देश बचाऊ होइन, जनता आऊ राजा ल्याऊ हो। जुन दिन राप्रपाले काठमाडौंको सडकमा एक लाखभन्दा बढी मानिस निरन्तर उतार्न सक्छ, त्यो अवस्थामा दुईतिहाइ धारा पर्खेर राप्रपा बस्दैन। संसदको शक्ति र सडकको शक्तिबाट राजालाई नागार्जुनबाट नारायणहिटीमा राख्ने काम जनताले गर्छन्।’राजसंस्थाको अस्तित्व नेपालको भूराजनीतिक वाध्यता भएको उल्लेख गरे। यदि यो वाध्यतालाई बिर्सिएमा नेपालको अस्तित्व खतरामा पर्ने उनको चेतावनी थियो।

‘नेपालको राष्ट्रियता र एकताको प्रतिकका रुपमा, साझा संस्थाका रुपमा राजसंस्था हुनुपर्छ,’ थापाले भने। राजासंस्थाको कुरा गर्दा आफूहरूले ६३ सालभन्दा अगाडिको अवस्थामा फर्कन नखोजेको उनले बताए।

उनले देशको राष्ट्रियता तथा राष्ट्रिय अस्मिता संकटपूर्ण अवस्थामा रहेको बताए। बाह्य शक्तिको प्रभाव बढेको र विदेशीको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा भएको उनको भनाइ थियो । वीपी कोइरालाले भनेजस्तै अहिले पनि देशलाई राष्ट्रिय मेलमिलापको आवश्यकता भएकोमा उनले जोड दिए।

समारोहमा थापाले नयाँ र पुरानो पुस्ताको भनेर कसैले पनि पार्टीमा विभाजनको रेखा कोर्न नहुने बताएका छन्। महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले नयाँ पुरानो, अग्लो होचो वा अन्य कुनैपनि बहानामा विभाजनको रेखा कोर्न नहुने बताएका हुन्।

यसअघि सम्बोधनका क्रममा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले पार्टीमा युवापुस्ता नेतृत्वमा आउनुपर्ने भन्दै पुराना पुस्ताका नेताहरुले अभिभावकीय भूमिकामा रहने धारणा राखेका थिए।


प्रतिक्रिया दिनुहोस्