कोरोनाको नयाँ भेरियन्टका कारण बार्सा र बायर्नको खेल बन्द रंगशालामा हुने, दर्शकलाई प्रतिबन्ध

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  २ : २०


काठमाडौं। यूईएफए च्याम्पियन्स लिगअन्तर्गत जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिख र स्पेनिस ला लिगा क्लब बार्सिलोनाबीचको खेल बन्द रंगशालामा हुने भएको छ।

युरोपमा बढ्दै गएको कोरोना भाइरस महामारीको कारण बायर्न र बार्सिलोनाबीचको खेल बिना दर्शक हुन लागेको हो। खेल बायर्न घरेलु मैदान एलिनाजमा ९ डिसेम्बरमा हुनेछ।

कोरोना संक्रमण बढ्दै गएपछि र विश्वभर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रन देखिन थालेपछि जर्मन सरकारले दर्शक बिना खेल गराउने तयारी थालेको हो।

समूह ‘इ’ मा बायर्न ५ खेलबाट १५ अंकसहित शीर्षस्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाइसकेको छ । बार्सिलोना भने ७ अंकसहित दोस्रो स्थानमा छ। ५ अंक रहेको बेन्फिका तेस्रो स्थानमा रहँदा १ अंकको ड्यनामो केईभ पुछारमा छ।

समूहको उपविजेताको रुपमा नक आउट चरणमा स्थान बनाउन बार्सिलोनालाई जित आवश्यक छ। अन्तिम खेलमा बार्सिलोना बायर्नसँग पराजित तथा बेन्फिकाले केईभलाई पराजित गरेको खण्डमा भने बार्सिलोना समूह चरणबाट बाहिरिनेछ।

एकै समयमा हुने खेलमा यदि बेन्फिका र केईभले बराबरी खेले बार्सिलोना दोस्रो चरणमा प्रवेश गर्नेछ।


प्रतिक्रिया दिनुहोस्