‘ताइवानमा चीनको आक्रमण हामीमाथिको आक्रमणजस्तै हो, अमेरिका र जापान चुप बस्दैन’

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १ : १३


जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेले ताइवानमाथि चीनले आक्रमण गरेको खण्डमा अमेरिका र जापान चुपचाप हेरेर नबस्ने बताएका छन्।

उनले चीनले ताइवानमाथि आक्रमण गर्नुपूर्व यस विषयमा सोच्नुपर्ने बताए। समाचार संस्था रोयटर्सका अनुसार उनले ताइवानमाथिको आक्रमण अमेरिका र जापनमाथिको आक्रमणजस्तै भएको उल्लेख गरे।

ताइवानको थिंक ट्यांक संस्थाको भर्चुअल कार्यक्रममा आबेले भनेका छन्,‘ताइवानमा आपतकालीन अवस्था सिर्जना हुनु हामीलाई आपत आइपर्नुजस्तै हो। चीनले ताइवानमा आक्रमण गर्नु भनेको जापान–अमेरिकी गठबन्धनलाई धरापमा पार्नु हो।’

चीनका राष्ट्रपति सी चिनफिङले यो विषयमा हेक्का राख्नु पर्ने र ताइवानमाथि आक्रमण भए अमेरिका र जापानले ताइवानको साथ दिने उनको भनाइ छ।

चीनले ताइवान आफ्नो प्रान्त भएको बताउने गर्दछ। ताइवान पनि चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ।

तर पछिल्ला वर्षहरुमा चीनले ताइवान आफ्नो भएको बताउँदै आक्रामक गतिविधिहरु बढाएको छ।

बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ।

उता ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ।

चीनले दैनिक युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा पठाउँदा ताइवानले पनि चीनको सम्भावित आक्रमणविरुद्ध युद्ध अभ्यास गरिरहेको छ। अमेरिकाले हतियार बेचेर साथै अन्य धेरै हिसाबले ताइवानको साथ दिइरहेको छ।

इन्डो–प्यासिफिक क्षेत्रमा चीनको आक्रामक गतिविधि रोक्न भन्दै अमेरिकी नेतृत्वमा क्वाड समूहको गठन भएको छ। जहाँ जापान, अमेरिका, भारत र अस्ट्रेलिया समावेश छन्।

यी राष्ट्रहरुले चीनले दाबी गर्ने समुद्र दक्षिण चीन सागरमा युद्ध अभ्यास गर्न थालेका छन्। यसबीचमा क्वाड राष्ट्र जापनले चीनलाई ताइवानमा आक्रमण नगर्न चेतावनी दिएको हो। बीबीसी र रोयटर्सको सहयोगमा


प्रतिक्रिया दिनुहोस्