सानैमा विवाह, पछि जन्जाल : सिन्धुलीमा बढ्दो घरेलु हिंसा

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ९ : ३२


उर्मिला भट्टराई

सिन्धुली । कमलामाई नगरपालिकी १४ वर्षीया किशोरीले तीन वर्ष अगाडि प्रेम विवाह गरिन् । विहे गरेको दुई वर्षसम्म दाम्पत्य सम्बन्ध राम्रो थियो । एकअर्काबीच गहिरो सम्बन्ध थियो । विवाहको दुई वर्षपछि छोरी जन्मिइन् । दुबै खुसी नै थिए ।

तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । विवाहको तीन वर्षपछि खटपट सुरु भयो र विस्तारै उनीमाथि शारिरीक एवं मानसिक हिंसा हुन थाल्यो ।

घरमा खानासम्म पनि नदिने र श्रीमानबाट हुने गरेको कुटपिट सहन नसकेपछि उनी माइतीमै बस्न थालिन् । ‘सुरुमा श्रीमानले कुट्दा सुध्रेलान् भन्ने भयो । माइतीमा के जानु भन्ने पनि भयो,’ उनी भन्छिन्, ‘दैनिक रक्सी खाएर कुटपिट गर्न लागेपछि माइतीको सहारा लिनुपर्‍यो । दुई वर्षदेखि छोरीलाई सँगै लिएर माइतीमै बसिरहेको छु ।’

सुनकोसी गाउँपालिकाकी अर्की एक महिला श्रीमानको कुटाइ र यातना सहन नसकेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पुगिन् । श्रीमानले मादक पदार्थ सेवन गरेर दैनिक पिट्ने, घरमा बस्नै नदिएपछि उनले प्रहरीमा उजुरी दिएकी हुन् ।

प्रहरीले बारम्बार छलफल गराउँदासमेत परिवारले ती महिलालाई स्वीकार नगरेपछि एक महिनासम्म सुरक्षित आवास गृहमा राखिएको महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्र सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार उमा तामाङ्ले बताइन् । पटक­पटकको छलफल पछि अन्तिममा मिलापत्र भयो ।

दूधौली नगरपालिकाकी अर्की एक किशोरीले १७ वर्षको उमेरमा राजीखुसी विवाह गरिन् । सामाजिक सञ्जालबाट चिनजान भएका पुरुषसँग दुई वर्षको प्रेम सम्बन्धपछि उनले विवाह गरिन् । विवाह पछि दम्पत्ति काठमाडौँमा बस्यो ।

किशोरी गर्भवती भइन् । सात महिनाको गर्भ हुँदा घरखर्च पठाउने सर्तमा उनको श्रीमान विदेश गए । नौ महिना पछि छोरी जन्मिइन् । विदेश गएका श्रीमानले केही सयम पैसा पनि पठाए । पछि श्रीमानले फोन नै उठाउन छाडे, पैसा त परैको कुरा ।

श्रीमान सम्पर्कविहीन भएपछि उनी खोजी गर्न थालिन । बुझ्दै जाँदा ती पुरुष पहिले नै विवाहित रहेको र घरमा श्रीमती रहेको खुल्यो । उनी भन्छिन्, ‘मलाई उता घरमा कहिले पनि लैजानु भएको थिएन । घरमा त श्रीमती पो रहेछिन् ।’

उनी श्रीमानको घर गइन् । त्यहाँ उनलाई जेठी श्रीमती र घरपरिवारले बस्न दिएनन् । त्यसपछि उनी माइती पुगिन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्र सिन्धुलीको तथ्यांक अनुसार चार महिनामा घरेलु हिंसाका ४१ उजुरी परेका छन् । बहुबिवाह, मानसिक यातना, कुटपिटजस्ता विषयका उजुरी आउने गरेको प्रहरी हवल्दार तामाङले बताइन् ।


प्रतिक्रिया दिनुहोस्