यो वर्षभित्रै रेल सञ्चालन हुने यातायात मन्त्री यादवको दाबी

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ७ : ५८


जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु यादवले यो वर्षभित्रै जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने दाबी गरेकी छन्।

मंगलबार रेल्वे निरीक्षणको क्रममा जनकपुरधाम स्टेसनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले रेल सञ्चालनको लागि नेपाल र भारत सरकार गम्भीर रहेकोले यो वर्षभित्रै जसरी पनि रेल चल्ने बताइन्।

रेल्वे सञ्चालन सम्बन्धी कानुन अन्तिम अवस्थामा रहेको तथा सञ्चालनको लागि चाहिने आवश्यक बजेटको व्यवस्थापन भइसकेकोले अव रेल चलाउन खासै समस्या नहुने मन्त्री यादवले बताइन्। कानुन, बजेट र प्राविधिक त्रुटिको अभावमा रेल सञ्चालनमा ढिलाइ हुन गएको उनले बताइन्।

‘विगतमा रेल सञ्चालनको लागि पटक-पटक समय तोकिएको थियो’, उनले भनिन्, ‘तर, सबै फेल हुँदै गयो। त्यसकारण म तपाइहरूसँग झुटो आश्वासन दिन चाहन्न। यो वर्षभित्र नै रेल सञ्चालन हुन्छ। म ग्यारेन्टी दिन्छु।’

रेल सञ्चालन सम्बन्धी कार्यविधि बनिसकेको र भारतीय केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौताअन्तर्गतको पहिलो किस्ता दिइसकेको उनले बताइन्।

कर्मचारी, बजेट र भाँडा दर तोक्न बाँकी रहेको र छिट्टै प्रक्रिया अगाडी बढ्ने उनले बताइन्।

रेल्वेमा भारत सरकारको सहयोग रहेकोले नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने गरी हामी कार्यक्रम बनाइरहेको मन्त्री यादवले बताइन्।


प्रतिक्रिया दिनुहोस्