भारतीय अभिनेत्री कंगना रणावतलाई ज्यान मार्ने धम्की, दिइन् प्रहरीमा उजुरी

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ४ : ५४


भारतकी चर्चित अभिनेत्री कंगना रणावतलाई ज्यान मार्ने धम्की आएको छ। हत्याको धम्की आएपछि उनी प्रहरीमा पुगेकी छिन्।

उनले धम्की दिनेविरुद्ध मंगलबार उजुरी दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। उनले आफूलाई खालिस्तानी आतंककारीहरुले हत्याको धम्की दिएको उल्लेख गरेकी छिन्।

आफूलाई केही भएको खण्डमा घृणित राजनीति गर्ने व्यक्तिहरु जिम्मेवार हुने उनको भनाइ छ। उनले पञ्जाबको काँग्रेस सरकारलाई यो विषयमा तत्काल अनुसन्धान गर्न आग्रह गरेकी छिन्।

पञ्जाबको बाथिन्डाका व्यक्तिले हत्याको धम्की दिएको उनको आरोप छ।

कंगनाले हालै एक टेलिभिजन कार्यक्रममा सन् १९४७ मा भारतले स्वतन्त्रता नपाएको उल्लेख गर्दै त्यसबेलाका स्वतन्त्रलाई भिखमा पाएको स्वतन्त्रता भनेकी थिइन्।

सन् २०१४ मा नरेन्द्र मोदी सत्तामा आएपछि मात्र भारत स्वतन्त्र राष्ट्र भएको उनको भनाइ थियो। यही विषयमा उनको सर्वत्र आलोचना भइरहँदा उनले हत्याको धम्की आएको बताएकी हुन्।


प्रतिक्रिया दिनुहोस्