कोरोनाको ओमिक्रोन भेरियन्टबाट विश्व त्रसित, अमेरिका भन्छः लकडाउन गर्न आवश्यक छैन

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ११ : ०८


कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट हाल विश्व त्रसित बनेको छ। दक्षिण अफ्रिकामा पहिलोपटक यो भेरियन्ट देखिएको हो।

जसका कारण विश्वका ४४ भन्दा बढी मूलुकले दक्षिण अफ्रिका भ्रमणमा प्रतिबन्ध लगाएका छन्। जापानले अनिश्चितकालको लागि विदेशी नागरिकलाई जापानमा प्रवेश निशेष गरिसकेको छ।

अन्य देशले पनि प्रतिबन्धात्मक नियम लागू गर्ने अनुमान गरिएको छ। यो भाइरस निकै शक्तिशाली भएको र यसले विश्वमा उच्च जोखिम सिर्जना गर्नसक्ने सोमबार विश्व स्वास्थ्य संगठनले जनाएको थियो।

अब फेरि यसबाट बच्न लकडाउनजस्ता प्रतिबन्धात्मक नियम लागू हुनसक्ने अनुमान गरिएको छ।

यसबीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोन भेरियन्टकै कारण पुरा देशमा लकडाउन गर्न आवश्यक नरहेको बताएका छन्। उनले भनेका छन्,‘यदी मानिसहरुले खोप लगाएका छन् र मास्क लगाएका छन् भने लकडाउन गर्न आवश्यक छैन।’

‘ओमिक्रोन भेरियन्ट चिन्ताको विषय हो तर त्रसित हुनुपर्ने कारण छैन’ उनले थपे। यो नयाँ भेरियन्टकै कारण अमेरिकाले आठ अफ्रिकी राष्ट्रमा यात्रा प्रतिबन्ध लगाएको छ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रनको खतराबारे बिस्तृत अनुसन्धान भइरहेको जनाएको छ। बाइडेनले कोरोना भाइरसको नयाँ भेरियन्टलाई रोक्न नसकिने बताउँदै यसबाट बच्न भने उपाय अपनाउनुपर्ने उल्लेख गरे।

उनका अनुसार यो नयाँ भेरियन्टको खोप बनाउने विषयमा अमेरिकामा छलफल चलिरहेको छ। लकडाउन लगाउने पक्षमा भने बाइडेन छैनन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्