बालोन डि’ओरका आयोजकसँग रिसाए रोनाल्डो

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १० : ३५


म्यानचेस्टर युनाइटेडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बालोन डि’ओरका आयोजकसँग रुष्ट बनेका छन्।

फ्रान्स फुटबलले वर्षेनी वर्षका सर्वोत्कृष्ट फुटबलरलाई बालोन डि’ओर अवार्ड प्रदान गर्दै आएको छ। यस वर्ष लियोनल मेस्सीले यो अवार्ड पाए।

यससँगै मेस्सी यो अवार्ड सातपटक जित्ने कीर्तिमानी खेलाडी बनेका छन्। मेस्सीपछि रोनाल्डोले पाँचपटक यो अवार्ड पाएका छन्।

हालै फ्रान्स फुटबलका सम्पादक पास्कल फेरिले रोनाल्डोको उद्देश्य मेस्सीको बालोन डि’ओर रेकर्ड तोड्नु रहेको बताएका थिए। उनले रोनाल्डोले आफूलाई यस्तो बताएको दाबी गरेका थिए।

तर रोनाल्डोले यो विषयको खण्डन गरेका छन्। उनले पास्कलले आफ्नो र आफ्नो पत्रिकाको नामको प्रचारको लागि झुठो दाबी पेस गरेको बताएका छन्।

आफूले कहिल्यै कसैलाई मेस्सीलाई जित्छु भनेर नभनेको रोनाल्डोको भनाइ छ।

‘बालोन डि’ओरजस्तो प्रतिष्ठित अवार्डको आयोजना गर्ने व्यक्तिले यस्तो झुठो बोल्नु अस्वीकार्य छ। यो मेरो लागि अपमान हो। मैले फ्रान्स फुटबल र बालोन डि’ओरलाई सँधै आदर गरेको छु’ उनले भने,‘व्यवसायिकता र निष्पक्षताले मेरो खेल जीवनलाई सुरुदेखि नै दिशानिर्देश गरेको छ त्यसैले म जित्नेहरूलाई सँधै बधाई दिन चाहन्छु। अर्कोकुरा म कहिल्यै कसैको विरुद्धमा छैन।’

‘क्लब र देशको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय टाइटल जित्नु मेरो उद्देश्य हो। मेरो सबैभन्दा ठूलो सपना फुटबल खेल्न चाहनेहरुको लागि उदाहरण बन्नु हो’ उनले थपे।


प्रतिक्रिया दिनुहोस्