मेस्सीले भनेः लिवानडोस्कीलाई गतवर्षको बालोन डि’ओर दिनुपर्छ, त्यो उनले जितेका हुन्

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ९ : ५२


अर्जेन्टिना तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी सातौंपटक बालोन डी’ ओर अवार्ड जितेका छन्।

सोमबार राति स्टार खेलाडी लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी’ओर अवार्ड जितेका हुन्।

मेस्सीले यसअघि २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितेका थिए। मेस्सीले रोबर्ट लेवान्डोस्की र जर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन्। मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बने। मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए।

म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डो छैटौँ स्थानमा रहे। रोनल्डोले यो अवार्ड पाँच पटक जितेका छन्।

लिवान्डोस्कीको लागि मेस्सीको सन्देश
जब मेस्सीले सातौं बालोन डि’ओर हात पारे उनले यस प्रतिस्पर्धामा दोस्रो बनेका बार्यन म्युनिखका स्टार लिवानडोस्कीलाई एक सन्देश दिए जसको विश्वभर प्रशंसा भइरहेको छ।

लिवानडोस्कीले बालोन डि’ओर अवार्ड कार्यक्रममा वर्षकै उत्कृष्ट स्ट्राइकरको अवार्ड पाए। लिवान्डोस्कीले गतवर्षको बालोन डि’ओर अवार्ड पाउनुपर्ने मेस्सीको जिकिर छ। लिवान्डोस्कीले बालुन डि’ओर जित्न सबैभन्दा राम्रो प्रदर्शन गरेका थिए तर कोरोना प्रकोपका कारण सो कार्यक्रम नै स्थगित भयो।

मेस्सी भन्छन्,‘म रोवर्टलाई यो भन्न चाहन्छु कि उहाँसँग प्रतिस्पर्धा गर्न पाउनु मेरो लागि प्रतिष्ठाको विषय हो। तपाइँले तपाइँको बालुन डि’ओर पाउनुपर्छ। गतवर्ष सबै यो कुरामा राजी थिए कि रोवर्ट नै विजेता थिए। मलाई लाग्छ फ्रान्स फुटबलले लिवान्डोस्कीले पाउनुपर्ने बालोन डि’ओर दिनुपर्छ।’

‘आशा छ कि फ्रान्स फुटबलले तपाइँलाई यो अवार्ड दिनेछ र तपाइँले घरमा राख्न सक्नुहुनेछ, यदि कोरोना महामारी थिएन भने तपाइँ नै पक्का विजेता हुनुहुन्थ्यो। यो अवार्ड तपाइँको घरमा पनि एउटा हुनुपर्छ’ उनले थपे।


प्रतिक्रिया दिनुहोस्