भारतमा मुस्लिममाथि हिन्दुवादीको हिंसा, मस्जिदमा तोडफोड हुँदा दोकानमा आगो

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ३ : ४७


भारतमा मुस्लिम समुदायमाथिको ज्यादती बढेको देखिएको छ। भारतको उत्तर पूर्वी त्रिपुरा राज्यमा रहेका मस्जिद र मुस्लिमले खडा गरेका दोकानहरुमा हिन्दु समुदायले जलाउने थालेका हुन्।

यसरी हिन्दुवादीले तोडफोड मच्चाउँदा अमिरुद्दीन शोकमा छन्। उनको जीविकोपार्जनको एक मात्र सहारा रहेको पसलमा पनि आगजनी भयो जुन भग्नावशेषमा परिणत भएको छ।

मुस्लिम समुदायका ऊनी भारतको उत्तर पूर्वी त्रिपुरा राज्यमा शान्तिपूर्वक नै बसिरहेका थिए। तर गत महिना हिन्दूहरूको एउटा उत्तेजित भिडले उनको गाउँमा विध्वंस मच्चाएको हो।

“त्यो भिडले हाम्रो गाउँमा पसेर बजारमा आक्रमण गरिरहँदा म पारिपट्टिको धान खेतमा उभिएर हेरिरहेको थिएँ” उनले भनेका छन्।,“प्रहरी आएका कारण हाम्रा घरहरूमा पुग्न नसकेपछि उनीहरूको आवेग अपराह्नतिर केही घण्टाका लागि बन्द रहने पसलहरूतिर मोडियो।”

त्रिपुराको ४२ लाख जनसङ्ख्यामध्ये हरेक १० जनामा एक जना भन्दा कम मुस्लिम छन्। सानो सङ्ख्यामा रहेका मुस्लिम अल्पसङ्ख्यकहरू हिन्दू छिमेकीहरू सँगसँगै बस्दै आएका छन्।

त्यही भिडले नजिकैको अर्को सहरमा पनि एउटा मस्जिदमा आक्रमण गरेको थियो। हिन्दू र मुस्लिम बस्तीले घेरिएको चामतिला मस्जिदका ढोकाहरू इँटाले हानेर तोडिएका छन्, भित्रपट्टि पङ्खाहरू भाँचिएका छन् अनि झ्यालहरू टुक्रा टुक्रा बनाइएका छन्। अहिले यो क्षेत्रका धेरैजसो मानिसहरू घर बाहिर निस्कन पनि रुचाउँदैनन्।

गत अक्टोबर महिनामा मात्रै उत्तरी त्रिपुराको यो जिल्लामा धार्मिक हिंसाका १० भन्दा बढी घटनाहरू जानकारीमा आएका छन्।

अक्टोबर २६ मा भारतको सत्ताधारी भारतीय जनता पार्टीसहित आधा दर्जन हिन्दू समूहहरू निकट मानिने हिन्दू कट्टरपन्थी संस्था विश्व हिन्दू परिषद्को एउटा र्‍याली पछि मुस्लिमहरूमाथि आक्रमण भएका हुन्।

उनीहरूले छिमेकी बङ्गलादेशमा केही समयअघि हिन्दूहरूमाथि भएको आक्रमणको विरोध गरेका थिए। त्रिपुरा तीन तर्फबाट बङ्गलादेशले घेरिएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्