राप्रपाको अध्यक्षमा कमल थापाले फेरि घोषणा गरे उम्मेदवारी

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  २ : १७


राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन्।

सोमबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी थापाले पुनः अध्यक्षमा उठ्ने घोषणा गरेका हुन्।

उनले घोषणा कार्यक्रममा राप्रपाका पुराना नेताहरू लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा, कृष्णचरण श्रेष्ठ, हेमबहादुर मल्ल, चन्द्रबहादुर गुरुङ जस्ता नेताहरुको नाम स्मरण गरेका थिए।

उनले अबको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने बताए। जीवनको अन्तिम समयसम्म पनि एकढिक्का राप्रपाका लागि आफू लागिरहने र गर्नुपर्ने धेरै र अधुरा काम छाडेर आफू पलायन नहुने उनले घोषणा गरे।

‘एकताको महाधिवेशन हो यो। नाम मात्रको होइन, मन, वचन र एकताको महाधिवेशन हुनुपर्छ। एकताको सन्देश दिनुपर्छ। राष्ट्रवादी नेपालीले उत्सुकतापूर्वक हेरिरहेका छन्। महाधिवेशनपछि पार्टी फुट्ने नियतिले गर्दा त्यो टुटफुटको शृंखला नदोहोरियोस् भन्ने छ। कामना गरिरहेका छन्,’ थापाले भने, ‘सम्पूर्ण महाधिवेशन प्रतिनिधिमा फर्केर घर जाँदा राप्रपालाई कहिल्यै फुट्न नदिने संकल्प गर्नुपर्छ।’

राप्रपा अध्यक्षका लागि यसअघि राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्। राप्रपामा पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी पनि अध्यक्षका दाबेदार छन्।


प्रतिक्रिया दिनुहोस्