चीनले लद्दाख नजिकै क्षेप्यास्त्र र रकेट हान्ने जनमुक्ति सेनाको रेजिमेन्ट तैनाथ गर्दै, तनावमा भारत

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १ : ४२


चीनले भारतको लद्दाख राज्य नजिकै क्षेप्यास्त्र तथा रकेट रेजिमेन्ट तैनाथ गर्न लागेपछि भारत चिन्तित बनेको छ।

वास्तविक नियन्त्रण रेखा एलएसी नजिकै पूर्वी लद्दाख सेक्टरमा चिनियाँ सेनाले क्षेप्यास्त्र तथा रकेट राख्न पूर्वाधार बनाउन थालेपछि भारतले चिन्ता व्यक्त गरेको हो।

अंग्रेजी पत्रिका लाइभ मिन्टका अनुसार दुवै देशले हालै भएको छलफलमा यस विषयमा कुरा गरेका थिए। सो क्रममा भारतीय पक्षले चिनियाँ सेनासँग क्षेप्यास्त्र–रकेट रेजिमेन्टको बारेमा प्रश्न गरेका थिए।

पत्रिकाका अनुसार सीमा नजिकै चिनियाँ पक्षले सडक, नयाँ राजमार्ग तथा क्षेप्यास्त्र रेजिमेन्टसहित भारी हतियार तैनाथ गरिरहेको छ। नयाँ रेजिमेन्ट क्षेप्यास्त्र हान्न र रकेट प्रहार गर्न पोख्त छन्।

चिनियाँ सेनाले भारतीय सीमा नजिक सडक संजाल तथा शक्तिशाली सैन्य रेजिमेन्टलाई बढावा दिएपछि भारतलाई थप दबाब बढेको छ। स्वायत्त क्षेत्र तिब्बतमा चीनले यसअघि नै क्षेप्यास्त्र तथा रकेट तैनाथ गरिसकेको छ।

यो घटनाले भारत र चीनबीचको सीमा विवाद अझ उत्कर्षमा पुग्ने खतरा बढेको छ। सन् २०२० मा भारतीय र चिनियाँ सेनाहरु गलवान उपत्यकामा आमनेसामने भएका थिए। त्यसबेला हिंस्रक झडप हुँदा भारतको २० र चीनको पाँच सेनाको ज्यान गएको थियो।

त्यसयता दर्जनौंपटक सैन्यस्तरमा वार्ता भएपनि सहमति हुन सकेको छैन। दुवै पक्षले एकअर्कालाई एलएसीको नियम तोडेको आरोप लगाउँदै आएका छन्।

भारत र चीनबीच हजारौं किलोमिटर लामो सिमांकन नगरिएको क्षेत्र छन् जसलाई उनीहरु आफ्नो भएको दाबी गर्दछन्। यही क्षेत्रलाई एलएसी भनिन्छ। एलएसी खडा गरेर उनीहरुले सो क्षेत्रमा प्रवेश नगर्ने र त्यहाँ कुनै गतिविधि नगर्ने सम्झौता गरेका छन्।

यद्यपी त्यहाँ दुवै देशका सेनाहरु भिडिरहन्छन्।


प्रतिक्रिया दिनुहोस्