ओमिक्रोन भेरियन्टको खतरासँगै विदेशी नागरिकलाई जापानमा प्रवेश निषेध

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १२ : १०


ओमिक्रोन भेरियन्टको खतरासँगै जापानले विदेशी नागरिकलाई जापानमा प्रवेश गर्न नदिने भएको छ।

सोमबार जापानी प्रधानमन्त्री नोबु किसिदाले यस्तो उद्घोष गरेका हुन्।

यही नयाँ भेरियन्टको खतराका कारण हालसम्म विश्वका ४४ राष्ट्रले दक्षिण अफ्रिका भ्रमणमा प्रतिबन्ध लगाइसकेका छन्। यसबीचमा जापान पहिलो राष्ट्र हो जसले सबै विदेशी नागरिकलाई जापानमा भ्रमण प्रतिबन्ध लगाउने निर्णय गर्यो।

ओमिक्रोन भेरियन्ट ज्यादै संक्रामक र खतरनाक हुनसक्ने वैज्ञानिकको अनुमान छ। नयाँ भेरियन्ट भएकाले यसमा कोरोनाको खोपले काम नगर्ने भनेर पनि वैज्ञानिकले चिन्ता व्यक्त गरिरहेका छन्।

दक्षिण अफ्रिकामा यो भेरियन्ट भेटिएकाले विश्वका दर्जनौं राष्ट्रले सो देशमा भ्रमण प्रतिबन्ध लगाएको छ।

यसबीचमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले कोभिडको नयाँ भेरियन्टलाई कारण देखाउँदै आफ्नो देश र अन्य छिमेकीविरुद्ध याात्रा प्रतिबन्ध लगाउने कदमको विरोध गरेका छन्। यात्रा प्रतिबन्ध अनावश्यक भन्दै तत्कालै हटाउनसमेत सम्बन्धित देशहरुलाई उनले आग्रह गरेका छन्।

‘प्रतिबन्धका कारण दक्षिण अफ्रिका दुःखी छ,’ उनले भनेका छन्। दक्षिण अफ्रिका अनुचित विभेदको पीडित भएको उनले बताए । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि बेलायत, अमेरिका, हङकङ, इजरायल, युरोपेली युनियनमा आबद्ध देशसहित दर्जनौ देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन्।


प्रतिक्रिया दिनुहोस्