गुह्येश्वरी जात्राका लागि तलेजु भवानी पशुपति क्षेत्रमा

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ८ : १८


प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमीदेखि दुई दिनसम्म पशुपति क्षेत्रमा सञ्चालन हुने गुह्येश्वरी यात्राका लागि हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा रहेको मूर्ति गुह्येश्वरी पुर्याइएको छ।

गुह्येश्वरी र तलेजुलाई दिदीबहिनीका रूपमा पुजिने भएकाले दुवै मूर्ति उस्तै रहेको छ। गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रूपमा पुजिने पुजारी जैन कर्माचार्यले बताए।

मूर्ति गुह्येश्वरी मन्दिरमा लगेसँगै आज राति बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिने गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिका सचिव रामकृष्ण डङ्गोलले जानकारी दिए।

मूर्ति तलेजु भवानीको मन्दिरबाट गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिन्छ। आज रातभर गुह्येश्वरी मन्दिरमा धुनी जगाइन्छ। मूर्तिलाई गुह्येश्वरीको गर्भगृहमा राखेर पूजा आराधना गरिन्छ। दुवै मूर्ति उस्तै भएकाले तलेजुलाई पनि स्थानीयवासीले गुह्येश्वरी भनी मान्ने गरेको पाइन्छ।

गुह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिङ्गो ठड्याइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले बताए।

जात्राका लागि लिङ्गो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रुख काट्ने गरिन्छ। जात्रा सकिएसँगै सोमबार बेलुकी छ बजे यो लिङ्गो ढाल्ने परम्परा छ। जयप्रकाश मल्लको पालादेखि सुरु भएको यो जात्रा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमी र दशमीमा हनुनमानढोका दरबारबाट पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरसम्म गरिन्छ।

रातभर गुप्ति पूजाको प्रक्रिया सकेपछि सोमबार बिहान ११ बजे विशेष पूजा गरी खटलाई यात्राको अनुमति दिइने समितिले जनाएको छ।

संस्थान र समितिको व्यवस्थापनमा समेबजीलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चिजबिज चढाएर पूजा आराधना गरिन्छ।

गत वर्ष कोरोना महामारीका कारण यो जात्राको विधिमात्र पूरा गरिएकामा यस वर्ष भव्यरूपमा जात्रा मनाउने तयारी पशुपति क्षेत्रमा भएको छ।

तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि पशुपति सिर्जनशील युवा क्लबलाई जिम्मा दिइन्छ। क्लबले गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूलभट्टबाट विधिपूर्वक पूजा गराउने परम्परा छ। पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिन्छ।

त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजा आराधना गरिन्छ। पशुपति क्षेत्रका विभिन्न स्थानमा हुने पूजा आराधनामा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ।

जात्राका लागि नेपाली सेनाको गुरुजुको पल्टनसमेत सहभागी हुने प्राचीनकालदेखिको परम्परा छ। नेपाली सेना, संस्थान, अमालकोट कचहरीलगायतले विधिपूर्वक छुट्टाछुट्टै पूजा गर्छन्। नवाली टोलमा निजी गुठीका गुठियारले पनि पूजा गर्ने अवसर पाउँछन्। नवालीटोलको पूजापछि रथलाई सिफल–ज्ञानेश्वर–कमलपोखरीमा पनि विशेष पूजा आराधना गरिन्छ।

कमलपोखरीको विशेष पूजापछि कृष्णपाउरोटी–तीनधारा पाठशाला–जमल–असन हुँदै सोमबार बेलुकी तलेजु भवानीको मन्दिरमा मूर्तिलाई लगिने कार्यक्रम तय गरिएको संस्थानले जनाएको छ।

आज यही मार्गबाट मूर्तिलाई गुह्येश्वरी मन्दिर लगिएको हो। मूर्ति लगेसँगै गुह्येश्वरी मन्दिर परिसरमा भक्तजनको भीड लागेको छ। यो जात्राका क्रममा धिमे बाजा, नायखी, बाँसुरी वादन गरिन्छ। जात्रामा नियमित भजनकीर्तन गर्ने समूहका सदस्य पनि सहभागी हुने गर्छन्। रासस


प्रतिक्रिया दिनुहोस्