भारतले जारी गरेको नक्साको विरोधमा विप्लवद्वारा संघर्ष घोषणा

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ८ : २४


काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति गम्भीर आपत्ति जनाएको छ ।

पार्टी महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गरि भारतको सो कदम नेपालमाथिको अतिक्रमणकारी रवैया र हमला भन्दै एकहप्ते बृहत् संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

संघर्षका कार्यक्रममा भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेसम्मका कार्यक्रम घोषणा गरिएको छ ।

विज्ञप्तिमा आगामी कात्तिक २१ गते मसाल जुलुश, २२ गते कोणसभा, २३ गते भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन गर्ने, २६ गते भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने उल्लेख छ ।

 

यस्तै विप्लव नेकपाका जनवर्गिय संगठनहरुले पनि भारतीय कदमको विरोध गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।


प्रतिक्रिया दिनुहोस्