जाजरकोटमा बस दुर्घटनाः ५ जनाको मृत्यु, २७ जना घाइते

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ८ : १०


काठमाडौं । जाजरकोटमा बस दुर्घटना भएको छ । नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना६ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परेर मृत्यु भएकामध्ये तीन जनाको सनाखत भएको छ। आठबिसकोट नगरपालिका रूकुमकी ४ वर्षीया दिब्या शाही, नलगाड नगरपालिका–१० का शेरबहादुर परियार र सप्तरीका ४० वर्षीय गंगाराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरू सबैलाई उपचार गर्न जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको छ ।

दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ । बस दुर्घटनाको कारण खुलेको छैन ।


प्रतिक्रिया दिनुहोस्