प्रदेश ५ को राजधानी दाङ बनाउन पहल गर्छु : प्रचण्ड

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडाैं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ५ को राजधानी दाङलाई बनाउन पहल गर्ने बताउनु भएको छ। दाङमा बुधबार बिहान भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले प्रदेश पाँचको राजधानी दाङमै पायक पर्ने धारणा राख्नुभएको हो।

दाङलाई प्रदेश ५ को राजधानी बनाउन आफूले पनि सक्दो सहयोग गर्ने उहाँको भनाई थियो। ‘राजधानी त सबै ठाउँको केन्द्र पर्ने ठाउँमा हुनुपर्छ भन्ने हो, दाङ सबै जिल्लाको केन्द्र पनि पर्छ’ सँगै बसेका मुख्यमन्त्री शंकर पोख्रेललाई देखाउँदै प्रचण्डले भन्नुभयो ‘मुख्यमन्त्री जी पनि यही हुनुहुन्छ। राजधानीका लागि उहाँले पहल गर्नुहुन्छ र, मैले कहाँ के सहयोग गर्नुपर्छ त्यो गर्नेछु।’

पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वकै सरकार पाँच वर्षसम्म निरन्तर रहने समेत बताउनुभएको छ।  ‘आलो पालो प्रधानमन्त्री हुने भन्ने कुरा त इतिहास भइसक्यो। अब यही सरकारलाई कसरी पाँच वर्षसम्म निरन्तरता दिन सकिन्छ भन्ने बारेमा सोंच्ने हो’ उहाँले भन्नुभयो, ‘पाँच वर्षसम्म यही सरकार चल्छ, अब कोही फेरिने वा फेर्ने भन्ने कुरा हुँदैन।’ महरा प्रकरणका बारेमा प्रचण्डले महराको गल्ती नै भएको र अब यो कुरा अदालतमा गइसकेको हुनाले यो विषयमा धेरै नबोल्ने धारणा राख्नुभयो ।


प्रतिक्रिया दिनुहोस्