भाइरल चित्रकी अफगान बालिका ४८ वर्षकी भइन्, अहिले इटालीमा शरण पाइन्…

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  २ : ४९


सन् १९८५ मा नेसनल जियोग्राफीक पत्रिकाको कभरपेजमा एक बालिकाको तस्बिर छापिएको थियो।

मनमोहक आँखाका कारण उनको तस्बिर अझैपनि चर्चामा आउने गरेको छ। त्यसबेला १२ वर्षकी सर्बात गुला अहिले ४८ वर्षकी भएकी छिन्।

उनको नेसनल जियोग्राफीकमा छापिएको तस्बिर भाइरल तस्बिर हो। अफगानिस्तान र पाकिस्तानको सीमास्थित शरणार्थी क्याम्पमा फोटोग्राफर स्टिभ कमकरीले खिचेका थिए।

यतिबेला झण्डै चार दशकपछि सर्बात गुलाले शरणार्थीको हैसियत पाएकी छन्। उनलाई इटालीले शरण दिएको हो।

सीएनएनका अनुसार उनलाई इटालियन प्रधानमन्त्री मारियो ड्रागीले शरणार्थीको हैसियत प्रदान गरेका हुन्।

‘सन् १९८४ मा नेशनल जियोग्राफिक पत्रिकाको कभर फोटोका लागि स्टिभ म्याकरीले खिचेको पेशावरस्थित शरणार्थी शिबिरकी बालिका शरबत गुलाको तस्वीर विश्वभर प्रसिद्ध भएको थियो र उक्त तस्वीर अफगानिस्तान तथा त्यहाँका मानिसले खेपिरहेको उचारचढाव एवं द्धन्द्धको प्रतीक बनेको थियो,’ प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अफगान नागरिकलाई स्थानान्तरण गर्ने कार्यक्रमअन्तर्गत र उनीहरूलाई शरण दिने तथा समायोजन गर्ने योजनाअनुरुप सर्बातले शरणार्थीको हैसियत पाएको पनि विज्ञप्‍तिमा उल्लेख छ।

नागरिक समाज र समाजसेवी संगठनले उनीसहित अन्य अफगान नागरिकलाई देश छाड्ने क्रममा सहयोग गर्नुपर्ने अनुरोध गरेपछि प्रधानमन्त्री ड्रागीले शरणार्थीको हैसियत प्रदान गरेका हुन्।

अमेरिकी फौजको बहिर्गमनलगत्तै यही अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि सैयौं अफगानीलाई आफ्नो मुलुकमा लैजाने पश्चिमी मुलुकमा इटाली समेत रहेको छ।


प्रतिक्रिया दिनुहोस्