“अनि पुलिसमा जागिर नखाएर भो ?”

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १२ : ३०


काठमाडौँ । विसं २००८ को कुरा हो । काठमाडौँ, चाबहिलका कान्छा डङ्गोल र तरिमायाकी जेठी छोरी चैतमायालाई सरकारी भर्तीका लागि थुतेर लगियोे । विसं २००७ पछि प्रजातन्त्रको परिवेश र उमङ्गका बेला उहाँसहितका महिलालाई एक टोलीले एक्कासि लिएर सिंहदरबारमा तालिम दिन शुरु गरेको थियो । त्यो टोली अरू कोही नभएर नेपाली कांग्रेससँग आबद्ध थिए । त्यस बेला महिलाको टोली चारूमती बहालमा महिला सशक्तीकरणको छलफलमा सरिक थिए । त्यहाँबाट नै चैतमायालगायतलाई सामूहिक रुपमा लगिएको थियो । प्रजातन्त्र पुनःस्थापना हुनुअघि नेपाली काँग्रेसको मुक्ति सेनाले आन्दोलन गरिरहेको थियो । भर्खर प्रजातन्त्र प्रवेश गरेकाले सुरक्षा संरचना भर्खरभर्खर बामेसर्दै थियो ।

उतिबेलाको समय नै उस्तै । महिला केवल चुलोचौकामा सीमित रहनुपर्ने नेपाली समाजको पुरानो चलन । सामान्य लेखपढ गरेर घरबाहिर जागिर गर्ने महिलाले निकै सङ्घर्ष र हिम्मत जुटाउनुपर्ने अवस्था थियो । त्यसमाथि सेना, प्रहरी जस्तो सुरक्षा अङ्गमा काम गर्ने सोच प्रायः महिलाको सपनामा पनि आउँदैन थियो । जब महिला आन्दोलनले विश्व तातिँदै गयो, तब त्यसको राप नेपाली समाजमा प¥यो । विस्तारै महिलाको उपस्थितिको रेखा कोरिन थाल्यो । कतिपय अवस्थामा अन्तरराष्ट्रिय सन्धिसम्झौताको पक्ष राष्ट्रको हैसियतले पनि नेपाल सरकारका विभिन्न अङ्गमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने बाध्यता आइलाग्यो । विशेषगरी राणाशासनको अन्त्यसँगै मौलाएको प्रजातान्त्रिक व्यवस्थाले महिलाका लागि अवसर र चुनौतीका चाङ लगाइदियो । चैतमाया त्यस्तै अवसर र चुनौतीका चेपुवामा परेकी थिइन् ।

झण्डै चार महिना जति चैतमायासहितको महिला टोलीलाई प्रहरीसँग सम्बद्ध विभिन्न तालिम दिने र खेल खेलाउने गरियो । त्यस बेलाका प्रहरी हाकिम नरशम्शेर जबरा आफैँ आएर तालिमेलाई सिकाउँथे । राणा नेपालका दोस्रो प्रहरी महानिरीक्षक थिए । उनले राणाले प्रहरी प्रमुख हो भन्ने कुरा पछि मात्रै थाहा पाएको सुनाइन् । तालिम सकिने बेलासम्म पनि उनीसहितका महिलालाई केका लागि तालिम लिइँदैछ भन्ने भेउसम्म थिएन । चैतमायाका अनुसार सबै महिला मिर्मिरे बिहान टुँडिखेलको फराकिलो चौरमा सिक्ने, खेल्ने गर्थे । त्यसबेला भाग्न नपाउने गरी बन्दोबस्ती मिलाइएको थियो । प्रहरीमा भर्ना भएको भन्ने कुराको कसैले सुइँकोसमेत पाएन ।

उनी कल्पनामै नभएको प्रहरी पेशामा अनायासै तानिइन् । खेलकुद गरेको चार महिनापछि बल्ल मात्रै प्रहरी भएको थाहा भयो । त्यो चाल पाएपछि चैतमायासहितका सबैले प्रहरीको जागिर नखाने अड्डी लिए । नलिऊन् पनि कसरी ? कडा मेहनत, चनाखो जीवनशैली र उछलकुदको प्रहरी पेसा महिलाका लागि सहज लाग्ने कुरै भएन । त्यसमाथि घरपरिवारको सहयोग र समर्थन पनि उतिबेला थिएन । महिला प्रहरी हुनु झनै चुनौती थियो तर उनीहरुको जागिर नखाने पुकारा कसैले सुनेनन् । बरु प्रहरी अधिकारीबाट धम्कीको सामना गर्नुप¥यो । “हामीले जागिर खान्नौँ भन्दा कि तालिमको पैसा तिर्, नत्र जेल जानुपर्छ भने”, अठासी वर्षीया चैतमायाले प्रहरी प्रमुखले भनेको कुरा सुनाउँदै भनिन्, “अनि पुलिसमा जागिर नखाएर भो ?”

त्यसपछि उनको प्रहरी जीवन सुरु भयो । प्रहरीमा भर्ना भएकामा श्रीमान् केदार राजवंशीलाई पनि चित्त बुझेको थिएन तर सरकारको नुन खाइसकेपछि उनले पनि ‘हुन्न’ भन्न सकेनन् । “प्रहरीमा जागिर खाएका निहुँमा सात दिनमै श्रीमान्सँग विवाद भए पनि पछि विस्तारै उहाँले स्वीकार गर्नुभयो”, चैतमायाले बताइन् । घरपरिवारको जिम्मेवारी श्रीमान् र परिवारलाई सुम्पिँदै उनले जागिरे जीवनको यात्रा सुरु गरिन् । शुरुमा उनको दरबन्दी ट्राफिकमा भए पनि जहाँ खटायो, त्यहीँ जानुपर्ने बाध्यता थियो । त्यतिबेला अपराधका रूपमा केही मारपिट, चोरीका घटना हुन्थे । उनले ‘ड्युटी’मा खटिँदा सयौँ अभियुक्त वा आन्दोलनकारी महिला, पुरुषलाई पक्राउ गरेकी थिइन् । विसं २०१४ को सत्याग्रहमा उनी झन् धेरै खटिइन् ।

उनले प्रहरी पेसामा नुनको सोझो मात्र गर्नु भएन, देशको रातो झण्डामुनि नेपाली महिलाकै शिर गर्वले ठाडो बनाइन्, देश सेवामा जीवन सुम्पेर आधा आकाशको सान बढाइन्, अनि पहिलो महिला प्रहरी बनेर ‘सत्य सेवा सुरक्षणम्’ को प्रहरी नारालाई महिला वर्गले पनि उँचो राख्न सक्छ भन्ने चरितार्थ गरिन् । उनलाई अहिले हिँडडुलमा अर्काको सहारा चाहिने बेला भइसकेको छ । प्रहरी सहायक निरीक्षकबाट २०३९ सालमा सेवानिवृत्त चैतमायाले प्रहरी हुनुमा गर्व गर्दै भनिन्, “प्रजातन्त्र खुलेपछि त ओहो ! कुरा गरिसाध्य छैन, त्यस्तो खुसीको क्षण थियो, त्यही बेला हामीलाई लग्यो ।”
त्यस समयमा प्रहरीमा मात्रै होइन, जागिर खाने महिला नै थिएनन् भन्छिन् चैतमाया । “प्रहरीमा जागिर खाने हाम्रो इच्छा थिएन, पुलिसमा जाने भनेर लगिएको पनि होइन, काँग्रेसका नेताले त्यसै सिंहदरबार लगेका थिए, चार महिनापछि पो प्रहरी भयौँ भने, आफू त छक्कै परेको” उनले सुनाइन् । त्यस बेला महिलाको २५ जनाको दरबन्दी थियो । त्यसमा पहिलो नाम ‘चैतमाया डङ्गोल’, वैशाख १ दर्ता भयो । “भर्ना हुँदा भाइहरू (प्रहरी जवान) तीन मोहर खान्थे किस्ता, हवल्दारको दुई रुपैयाँ थियो, महिला भाग्छन् भनेर त्यतिखेरै हामीलाई तीस रुपियाँ दिइएको हो”, उनले पुरानो कुरा सम्झँदै भनिन् । जाडामा खाकी रङको ऊनी र गर्मीमा जिन्सको पोशाक दिइन्थ्यो ।

चैतमायाले झण्डै ३२ वर्ष प्रहरीमा सेवा गर्दा प्रहरी नायब निरीक्षक (सइ) हुने समय भएको थियो । “चिठ्ठी आउनै लाग्दा घरको समस्याले जागिर छाडेँ”, उनले सुनाइन् । प्रहरी हुँदाका अनेक अनुभव उनीसँग छ । “कति हेलाँ गर्थे त्यस बेला, सबै सहेर काम गर्नुपरेको थियो, सुरुसुरुमा डर पनि लाग्यो, लाज पनि हुन्थ्यो । अरुले ‘पुलिसनी’ जिस्क्याउँथे, पछिपछि हेलाँ गर्ने, जिस्क्याउनेलाई लखेट्थेँ”, उनले काम गर्दाका स्मृति सुनाइन् । पाँच दिदीबहिनीमा उनीसहित तीन जना प्रहरीमा लागे । उनले पछि माहिली बुद्धमाया र साहिँली श्रीमानीलाई प्रहरीमा लगाएकी थिइन् । बुद्धमाया भने अहिले बितिसकिन् ।

आफूलाई प्रहरीमा भर्ना हुँदा लाज लाग्ने गरे पनि अब त्यस्तो अवस्था नरहेको उनी बताउँछिन् । अहिले त खुसीसाथ भर्ना हुन्छन् । “महिलामा पनि केटासरह नै काम गर्न सक्ने तागत छ”, उनले ठोकुवा गरिन् । अहिले विभेद नभएकाले पनि काम गर्न सजिलो रहेको उनी बताउँछिन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री आजभन्दा झण्डै ७० वर्ष पहिला महिला प्रहरी हुनु आफैँमा चुनौतीको विषय भएको मान्छन् । “चैतमायाको जीवन कुनै तिलस्मी कथाकी नायिकाको जस्तै छ”, आइजिपी थापाले भने ।
नेपाल प्रहरीले उनलाई गत असोज २० गते मनाइएको ६६औँ प्रहरी दिवसका अवसरमा पहिलो महिला प्रहरीका रुपमा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान ग¥यो । उनले मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाका हातबाट सम्मान लिइन् । उनी बसेकै ठाउँमा पुगेर गृहमन्त्री बालकृष्ण खाणले दीर्घायुको कामना गर्दै विगतमा शान्तिसुरक्षा कायम गर्न गरेको योगदानको प्रशंसा गर्नु भुलेनन् । देशका उच्च व्यक्तिले आफू बसेकै ठाउँमा भेट्न आउँदा चैतमायाले त्यतिबेला हर्षित मात्रै भइनन् प्रहरी भएकामा गर्व पनि गरिन् । त्यसो त उनले गोरखा दक्षिणबाहु चौथो, प्रहरी सेवा पदकलगायत पनि प्राप्त गरिसकेकी छन् ।

कामको दौरान उनी चितवन, नुवाकोट र तनहुँको तत्कालीन सदरमुकाम बन्दीपुर पनि खटिएकी थिइन् । विसं २०२१ मा बन्दीपुरबाट दमौली सार्दा आन्दोलन भएको थियो र भिड नियन्त्रणमा महिला प्रहरीलाई अगाडि राखिएको थियो । त्यसमा सरिक भएकी चैतमायाले महिला प्रहरी देखेपछि आन्दोलनकारी हच्किएको बताएको प्रहरीले प्रकाशन गरेको एक पुस्तकमा उल्लेख छ । अहिले विभिन्न प्रहरी तालिमहरूमा पहिलो महिला प्रहरीका रुपमा उभिएर प्रेरणा दिन उनले छाडेकी छैनन् । कानुनतः ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ तर नेपाल प्रहरीमा अहिले पनि तिनको सङ्ख्या न्यून छ । हाल नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक, आठ÷आठ प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक, २९ प्रहरी नायब उपरीक्षक, ११७ प्रहरी निरीक्षकसहित आठ हजार ३५६ महिला प्रहरी कर्मचारी छन् । सबैभन्दा बढी जवान महिला छन् । कुल प्रहरीको दरबन्दी ७९ हजार ५३८ भए पनि हाल ७६ हजार १०१ प्रहरी कार्यरत रहेकामा झण्डै ११ प्रतिशत मात्रै महिला छन् ।

विसं २०१२ मा ऐन आएपछि मात्रै प्रहरी सङ्गठन औपचारिक रुपमा गठन भएको मानिन्छ । त्यही दिनको सम्झनामा प्रहरी दिवस मनाउने गरिएको छ । ऐनमा लालमोहर लाग्नुअघि नै प्रहरी भर्ना गरिएको थियो । त्यसमाथि महिला पनि सहभागी थिए । चैतमाया त्यसैको एउटा उत्पादन हुनुहुन्छ । प्रहरीको इतिहास खोतल्दा विसं १९५५ तिर तराईमा हुने आपराधिक क्रियाकलाप रोक्न अमिन प्रहरी स्थापना भएको पाइन्छ । पहाडतिर मिलिसियो बनाइएको थियो । विसं १९६७ मा काठमाडौँमा कोतवाली प्रहरीको स्थापना भएको थियो । नारायण ढुङ्गाना/रासस


प्रतिक्रिया दिनुहोस्