पार्टी एकता, विवाद र विभाजनको इतिवृत्तान्त

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १२ : १८


नेपालको कम्युनिष्ट आन्दोलनले विगत ७२ बर्षमा निकै उतारचढावपूर्ण अवधि पार गरेको छ। मुख्यतः फुट र विभाजनसँग लड्दै एकताबद्ध कम्युनिष्ट आन्दोलनको निर्माण गरेर अघि बढ्न अत्यन्त चुनौतिपूर्ण र कष्टसाध्य अनुभव रहेको छ ।

यसै परिप्रेक्ष्यमा नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी गठबन्धन र पार्टी एकता भएको थियो, जसलाई जनताले समर्थन र अनुमोदन पनि गरेको सर्वविदितै छ। दुई पार्टीबीचको एकता र त्यसले लिएको गन्तव्य गलत थिएन।

तर दाउपेच, गुटबन्दी र पार्टी कब्जाको नियत र व्यवहार शुरुदेखि नै अत्यन्त बिझ्ने खालको नै रहेको थियो । यहाँ वाम गठबन्धनदेखि पार्टी एकीकरण, उत्पन्न विवाद र विभाजनको नियतिसम्मको तथ्यविवरण र विश्लेषण प्रस्तुत गरेर आजको परिणामलाई बुझ्न सहज बनाउने कोशिश गरिएको छ।

खण्ड २:

८. २०७६ मंसिर ४ गते पुष्पकमल दाहालले बालुवाटारमा भएको सचिवालय बैठकमा अनायास रुपमा ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्ष नै सरकारको नेतृत्व गर्ने आलोपालो सहमतिको सट्टा आपूmलाई पार्टी सञ्चालन गर्न कार्यकारी अध्यक्षको जिम्मेबारी दिनुपर्ने प्रस्ताव गरे। जुनसुकै चालवाजी अन्तर्गत त्यस्तो प्रस्ताव गरेको भए पनि बैठकले त्यसलाई स्वीकार ग¥यो र तदनरुप निर्णय भयो । त्यसमा दुईवटा चालबाजी र दाउपेच थिए– पहिलो, प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या बढ्दै थियो।

उहाँले दुर्ई पटक सिंगापुर पुगेर उपचार गराइसक्नु भएको थियो र नियमित डाइलासिस गर्दै दोस्रोपटक प्रत्यारोपण बाध्यात्मक भइसकेको थियो। खासमा प्रचण्डको भित्री बुझाइ अब उहाँको जीवन धेरै छैन भन्ने नै थियो । र, अनायास पाँचै वर्ष प्रधानमन्त्री निरन्तर हुन प्रस्ताव गरिएको थियो। कथं– प्रधानमन्त्री भौतिक रुपमा छिट्टैै विदा हुनुभयो भने मैले त उहाँलाई पाँचै वर्ष प्रधानमन्त्री हुनेगरी पार्टीबाट निर्णय नै गराएको थिएँ, दुर्भाग्यवश उहाँ हाम्रो बीचमा रहनुभएन भन्दै एमालेपङ्क्तिले आपूmलाई सहजै स्वीकार गरोस् र नेता मानोस् भन्नेगरी इमोसनल ब्लाकमेलिङको भित्री योजनाअन्तर्गत मंसिर ४ गते त्यसप्रकारको निर्णय गराइएको थियो।

दोस्रो, कार्यकारी अध्यक्षको हैसियत प्रयोग गरेर आफ्नो निवासमा निरन्तर गुटबन्दी गर्ने, त्यसखाले गुटबन्दीलाई स्वाभाविक र वैधानिकताको आवरण दिने र प्रधानमन्त्रीलाई निरन्तर घेराबन्दी एवं असहयोग गर्ने क्रम बढाउने योजनाले यसमा काम गरेको थियो। त्यसपछि खुमलटारमा मात्रै तीन सय भन्दा बढी गुटगत, समूहगत र पार्टीभित्रको कथित भैंसेपाटी गठबन्धन पक्षका गोप्य बैठकहरु चलेको तथ्यबाट उनको वास्तविक भित्री योजना स्पष्ट भइसकेको थियो।

हात्तीवन, पेरिसडाँडा, कोटेश्वर, बालकुमारी, झम्सीखेल, धुम्बाराही, अगेनो रेस्टुरेन्ट र ताहाचल बाछाबाछी टोलमा समेत गरी निरन्तर भएका गुटगत भेला, बैठक र भेटघाटको स्पष्ट उद्देश्य र अभिप्राय भनेको सरकारलाई काम गर्न नदिने, पार्टीमा आफ्नो नियन्त्रण बढाउने र कब्जा गर्ने अनि पार्टी अध्यक्ष बीचैमा छाडेर एकल अध्यक्ष बनाउन बाध्य पार्ने चालबाजी नै त्यसमा रहेको थियो। त्यस निम्ति नै यस्ता तमाम क्रियाकलापहरु गरिएको थियो।

९. मंसिर ९ गते प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुप¥यो । खासमा यो अत्यन्तै जटिल र खतरनाक अपरेसन थियो । चिकित्सकहरुले एक प्रकारले आशा मारिसकेका थिए र पेटमा सङ्क्रमण पैmलिएर स्थिति गम्भीर भइसकेको थियो । पार्टीका दोस्रो अध्यक्षले त्यस स्थितिको सूचना नपाउने कुरै भएन ।

त्यही दिन र भोलिपल्ट समेत गरी निवासमा दुई वटा परामर्श बैठक गरी माओवादी पृष्ठभूमिका नेताहरुसँग उनले भन्न भ्याएका थिए– ‘अब जिम्मेवारी मेरो काँधमा आउने भयो । सरकार र पार्टी दुवै मैले चलाउनुपर्ने बाध्यता हुने भयो । प्रधानमन्त्रीको जीवनको धेरै आशा नै बाँकी रहेन, उहाँको स्थिति फर्किने खालको छैन । चिकित्सकहरुले यो स्थिति भनिसकेका छन् ।’ तर अचम्म ! प्रधानमन्त्रीको स्वास्थ्यमा चमत्कार नै भयो, भोलिपल्टैदेखि उहाँको स्थितिमा सुधार आयो र चौथो दिन त प्रचण्ड स्वयंलाई अपरेशन पछिको आइसीयू कक्षमा भेट्न बोलाइयो । उहाँले आइसीयूबाटै भिडियो सन्देश समेत दिनुभयो ।

र, सिंगो देश उहाँको स्वास्थ्यमा सुधारको सुखद खबरले हर्षित भयो, पार्टीपंक्ति खुशी भयो र शभेच्छुकहरुमा उत्साह सिर्जना हुन पुग्यो । १० दिनमै उहाँ अस्पतालबाट डिस्चार्ज भई सकुशल निवास फर्किनुभयो ।

१०. २०७६ माघमा पार्टी केन्द्रीय कमिटीको बैठक राष्ट्रिय सभागृहमा बस्यो । त्यसमा प्रचण्डको एकल प्रस्तुति जस्तै रह्यो भन्न मिल्छ । प्रथम अध्यक्ष र प्रधानमन्त्री बैठकको सुरुवात र समापनमा मात्रै सहभागी भएर आफ्नै मन्तव्य राख्नु भयो । बन्दसत्र, समूह छलफल र बैठकको सञ्चालन प्रचण्डले नै एकल रुपमा गर्नुभयो ।

तर रमाइलो कुरा प्रधानमन्त्रीले बैठक सञ्चालन गर्न प्रदान गरेको जिम्मेवारी र भरोसालाई कुल्चदै प्रचण्डले समूह नेता छलफलमै माधव नेपाल पक्षसँग गठबन्धन गरी गुटगत मोर्चाबन्दीको सन्देश प्रवाह गर्ने कोशिश गर्नुभयो । ती दुबै पक्षको मोर्चाबन्दीका साझा दावेदारहरु नै अधिकांश समूह नेता छानिएर बैठकलाई गुटगत मोर्चाको अभ्यास गर्ने थलोमा बदल्ने र पार्टीलाई विवादको अखडामा परिणत गर्ने काम भयो । अझ प्रचण्डको गुनासो त उद्घाटन र समापन दुबैमा प्रधानमन्त्री एवं प्रथम पार्टी अध्यक्षको उपस्थितिप्रति थियो र आपूmलाई पूरै पार्टी सञ्चालन गर्न नदिएको दुखेसो पटकपटक गरेको सुनिन्थ्यो ।

११. मङ्सिरको अन्तिम र पुसको पहिलो हप्ता धुम्बाराहीस्थित पार्टी कार्यालयमा पार्टी स्थायी कमिटीको दोस्रो बैठक बस्यो । प्रधानमन्त्री स्वास्थ्यका कारण उपस्थित हुनुभएन र बैठक सम्पूर्ण रुपमा प्रचण्डकै अध्यक्षता र सञ्चालनमा भयो । त्यस बैठकमा गम्भीर छलफल भयो । एक दिन केही नेताहरु पूर्वनिर्धारित तालिकाअन्तर्गत राष्ट्रपतिसँगको भेटघाटमा पुगेर फर्किनु भयो र त्यसको सामान्य जानकारी बैठकलाई गराउनु भयो । तर प्रचण्डले राष्ट्रपतिसँगको भेटघाटमा जानुभएका नेताहरुप्रति बैठकमै आक्रोश पोख्ने र स्थितिलाई उत्तेजक बनाउने कार्य गर्न कुनै कसर बाँकी राखिएन ।

त्यसखाले रवैयाप्रति भेटघाटबाट फर्कनु भएका नेताहरुले प्रतिवाद गरेर तथ्य विवरण राख्नु भएपछि उहाँ बैठकको निरन्तरतामा केन्द्रित हुनुभयो । यस्ता अनेकन् तौरतरिका अनाउँदै प्रचण्डले निरन्तर शक्ति बढाउने, नियन्त्रण बढाउने र पार्टी आफ्नो बनाउने कोशिश गरिरहनु आश्चर्यकै विषय थियो ।

१२. माघ १८ गते भैसेपाटीस्थित वामदेव गौतमको निवासमा पार्टी सचिवालयमा जारी गुटबन्दीको सार्वजनिक पटाक्षेप भयो । उक्त दिन बेलुका ५ः०० बजे प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित भई गोप्य बैठक, गुटगत सल्लाह र मोर्चाबन्दीको घोषित रुपमा नै सन्देश दिने कार्य भयो । त्यसबारेमा अध्यक्ष रहनुभएका प्रधानमन्त्रीलाई कुनै जानकारी थिएन । त्यस गठबन्धनले त्यसपछि निरन्तरता नै पाइरह्यो । ठाउँ बदलीबदली गुटगत बैठकहरू चलिरहे ।

त्यस ढङ्गले गोप्य बैठक गर्ने र संयुक्त रुपमा एजेण्डा ल्याउने र सचिवालय बैठकमा प्रधानमन्त्रलाई तनाव दिने मात्रै कार्य पाँच जनाको गुटले निरन्तर गरिरह्यो । यसरी पाँच जनाको गुटगत बैठक गरिरहनुको अर्थ सचिवालयका नौमध्ये हामी पाँच जना एकातिर अझ प्रधानमन्त्रीको विपक्षमा छौं भन्ने सन्देश नै थियो ।

१३. खासमा वामदेव गौतमले जिम्मेबारीबोध गरेको भएर न पार्टी विभाजन हुन्थ्यो, न त सरकार नै कोही कसैले ढाल्न सक्ने अवस्था हुन्थ्यो । व्यक्तिको सकारात्मक वा नकारात्मक भूमिकाले कहिलेकाहीँ कस्तो परिणामसम्म ल्याउन सक्दो रहेछ ? त्यसको दृष्टान्तका निम्ति वामदेव गौतमले नेपाली राजनीति, नेपाली कम्युनिष्ट आन्दोलन र दुई तिहाई बहुमत प्राप्त वामपन्थी जनादेशविरुद्धक असली खलपात्रको भूमिका निर्वाह गरेको उल्लिखित तथ्यबाट स्पष्ट भइसकेको छ ।

र, यतिबेला उहाँ पार्टीबाट एक्लो र निजी निवासमा सीमित भएर अवकाशको जिन्दगी बिताउनुपर्ने अवस्था बन्न पुगेको छ । देशका १५÷१६ वटा निर्वाचन क्षेत्र चहार्दै उपचुनावमा उम्मेदवार बन्ने, निर्वाचित हुने र प्रधानमन्त्री बन्ने व्यक्तिगत इच्छा र महत्वाकाङ्क्षाको जङ्गली घोडामा सवार भएर पार्टीभित्र भाँडभैलो सिर्जना गर्ने क्रममा उहाँ भँैसेपाटी गठबन्धनकै योजनाअन्तर्गत पछि राष्ट्रिय सभाको सदस्यमा राष्ट्रपतिबाट मनोनयन भई सांसद हुनुभएको छ ।

र, संविधान संशोधन गरी राष्ट्रिय सभाको सदस्य समेत प्रधानमन्त्री बन्ने व्यवस्था गर्न माधवकुमार नेपालको संयोजकत्वमा सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा रहेको कार्यदल गठनको घोषणा त्यसै आडमा गरे पनि कार्यदल घोषणा हुन नसकी बीचमै विघटन भएपछि उहाँ उपचुनावबाट प्रधानमन्त्री हुने, संविधान संशोधन गरेर राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुने जस्ता असम्भव कोशिश त्यागेर राष्ट्रिय सभाकै सदस्य भएर बाँकी जीवन बिताउन राजी हुनुप¥यो । अहिले त न यता न उता जस्तो भएर एकताको मनोगत राग अलाप्दै सारतः नेकपा (एमाले)को विभाजन गर्न सक्रिय तत्वहरुलाई नै सहयोग पु¥याउने भूमिकामा क्रियाशील रहनुभएको छ । खासमा उहाँको उपादेयता, विश्वासनियता र उपयोगिता नै समाप्तजस्तै हुन पुगेको छ । र, अब राजनीतिक रुपमा सन्यासको घोषणा गरी बाँकी जीवन बिताउनु श्रेयष्कर हुने देखिन्छ ।

१४. २०७६ फागुन ३ गते सरकार गठन र सञ्चालनको दुई वर्ष अवधि पूरा भयो । संविधानबमोजिम दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने बाध्यता हुनाले सरकारलाई ढुक्कजस्तै थियो । जब त्यो अवधि सकियो, अस्थिरताका हिमायतीहरु खुशी हुनु एकदम स्वभाविकै थियो । एउटा राष्ट्रिय दैनिक पत्रिकाले त अब अविश्वास प्रस्ताव ल्याउन पाइने भन्दै सम्पादकीयमार्फत खुशी नै प्रकट ग¥यो । त्यसपछि सञ्चार माध्यम, माइतीघर मण्डला, खुमलटार, कोटेश्वर र नेकपाको सचिवालयभित्र समेत एकसाथ सरकार विरोधी स्वर र गतिविधिहरु बढाउन थालियो । पहिल्यै गोविन्द केसीलाई उचाल्ने, गुठी, सञ्चार कानून र अन्य विषयका विधेयकहरुलाई निशाना बनाएर कानून निर्माण प्रक्रिया बिथोल्ने र पटकपटक वक्तव्यवाजी गर्ने १८ सम्पादकहरुले समेत सरकारलाई प्रहार गरेर बदनाम गर्ने, विवाद चर्काउने र नेतृत्वबाट हटाउने रणनीति अन्तर्गत अघोषित संयुक्त मोर्चाबन्दी बनाएर आगो फुक्नेगरी सक्रियता ह्वात्तै बढाउन थालेको अनुभूति हुन थाल्यो ।

१५. फागुन २१ गते प्रधानमन्त्रीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको दोस्रो पटक सफल प्रत्यारोपण सम्पन्न भयो । उहाँले फागुन १७ गते पार्टीको सचिवालय बैठकलाई प्रत्यारोपण गराउन अस्पताल भर्ना हुन जाने जानकारी गराउनु भयो । र, १८ गते उपप्रधानमन्त्री ईश्वर पोखरेललाई सरकार सञ्चालनको जिम्मेवारी सुम्पेर अस्पताल भर्ना हुन जानुअघि देशबासीलाई सम्बोधन गर्दै भन्नुभयो– ‘म मेरा सपनाहरु बीचमा अधूरै छाडेर अलप हुनेछैन ।’ त्यस भनाइले सिङ्गो देशलाई द्र्रविभूत र संवेदनशील बनायो ।

उहाँको पहिलो प्रत्यारोपणमा संलग्न चिकित्सकसहितका नेपाली विशेषज्ञहरुले नेतृत्व गरेको चिकित्सक टोलीले सफल प्रत्यारोपण ग¥यो र यथार्थमा नयाँ जीवन नै दियो । त्यस सुखद खबरले सारा नेपाली खुशी भए, पार्टीपङ्क्ति र नेपालको हित चाहनेहरु सबैमा उत्साह र खुशियाली छायो । तर पार्टीका दोस्रो अध्यक्ष रहेका प्रचण्ड २० गते राती ९ः०० बजे शिक्षण अस्पताल पुगेर प्रत्यारोपण अघि भेट गरी फर्केपछि फेरि अस्पताल पुगेको देखिएन । दोस्रो पटक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण नेपालमै सफल भएकोमा प्रचण्ड स्तब्धजस्तै भए । बरु राप्रपाका कार्यकर्ताको विहेमा सहभागी हुन चितवन जाने फुर्सद निकाले, तर खुमलटारबाट महाराजगञ्ज पुग्ने कष्टसम्म गरेनन् ।

चिकित्सकहरुलाई भेटेर दोस्रो अध्यक्षको हैसियतमा पार्टीका प्रथम अध्यक्षको स्वास्थ्यस्थितिप्रति अस्पतालमै पुगेर चासो र सरोकार राख्नसमेत जरुरी महसुस गरेको पाइएन । १० दिन अस्पताल बसेर चैत ३१ गते प्रधानमन्त्री डिस्चार्ज हुनुभएपछि ११ औं दिन दिउँसों मात्रै प्रचण्डले बालुवाटार पुगेर भेट गर्नुभयो ! वास्तवमा उहाँले प्रधानमन्त्रीको यस ढङ्गले सफल प्रत्यारोपण होला भन्ने सोच्नसमेत नसकेको र अकल्पनीय परिघटना थियो । र, त्यही बिन्दुदेखि पार्टी एकता र सरकारको निरन्तरताविरुद्ध उहाँ अत्यन्तै गलत र ध्वंसात्मक तरिकाका साथ सक्रिय हुन थालेको स्पष्ट देखिन थाल्यो । जबकि प्रधानमन्त्रीले अस्पतालबाट डिस्चार्ज भएर दोस्रो दिन नै सार्क क्षेत्रका नेताहरुको भर्चुअल बैठकमा सिंहदरबारस्थित एक्सन रुम पुगेर सहभागी हुनुका साथै सम्बोधन पनि गर्नुभयो । यो उहाँको उच्च मनोबल र जिम्मेबारी बोधको दृष्टान्त थियो ।

देशमा कोभिड–१९ महामारीको बढ्दो सङ्क्रमणले जनजीवन कठिन थियो । सरकारले लकडाउन गरिकन सङ्क्रमण नियन्त्रण र महामारी रोक्ने अनेक प्रयास गरिरहेको थियो । यस्तो स्थितिमा प्रचण्डले उच्चस्तरीय संयन्त्र गठन गरेर आपूmहरु समेत त्यसमा हुनुपर्ने अन्तर्वार्ता दिन थालेको स्थिति थियो । जबकि सरकार दुईतिहाई बहुमतको थियो र त्यसले नै जनादेश अनुरुप मुलुकको नेतृत्व गर्नु स्वभाविक थियो । त्यस्तो संयन्त्रको औचित्य खोज्नु भनेको सरकार असफल भएको सन्देश दिन खोज्नु मात्रै हुन जान्थ्यो । प्रधानमन्त्रीले त्यस प्रकारको उच्चस्तरीय संयन्त्रको आवश्यकतालाई अस्वीकार गर्नुभयो र आफ्नो नेतृत्वमा तीन करोड नेपालीलाई एकतावद्ध गरेर सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो ।

१६. २०७७ बैशाख ८ गते संवैधानिक परिषदको कार्यविधि र राजनीतिक दलसम्बन्धी कानूनमा संशोधनको व्यवस्थासहित अध्यादेश गरी भयो । दुई वर्षदेखि संवैधानिक आयोगहरु रिक्त थिए । प्रमुख विपक्षी दलका नेता बैठकमा उपस्थित नै नहुने गरी असहयोग जारी थियो । सभामुख समेत त्यही लहरमा उभिएर अनुपस्थित हुन थालेको अवस्था निश्चय नै गंभीर थियो । उपसभामुख पद त रिक्त छँदै थियो । छ सदस्यीय संवैधानिक परिषदमा बाँकी प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष रहने हुनाले मौज”दा संख्याको बहुमत उपस्थितिले निर्णय गर्न पाउने नयाँ व्यवस्था गरियो ।

राजनीतिक दलहरुको संसदीय दल र केन्द्रीय समितिको ४० प्रतिशत हिस्साले पार्टी विभाजन गर्न पाउने व्यवस्था रहेकोमा ‘र’ को सट्टा ‘वा’ भन्ने परिवर्तन गरिएको थियो । त्यसविरुद्ध देउवा, प्रचण्ड, माधवकुमार .नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादव सम्मिलित आज अस्तित्वमा देखिएको गठबन्धन त्यतिबेलै सक्रिय भयो । पार्टीका २० जना स्थायी कमिटी सदस्यहरुले संयुक्त हस्ताक्षर गरी सञ्चार माध्यममार्फत बैठकको माग गरे । अन्ततः वैशाख ११ गते दुबै अध्यादेश फिर्ता लिने गरी मन्त्रिपरिषदले सिफारिस ग¥यो र फिर्ता गरियो । प्रधानमन्त्रीले सहजता र सहमतिका लागि त्यसो गर्नुभएको थियो ।

(नोटः १० देखि १३ मंसिरसम्म आयोजना हुने नेकपा एमालेको महाधिवेशन केन्द्रित गरेर लेखिएको यस लेख चार खण्डसम्म प्रकाशित हुनेछ।
–लेखक थापा एमालेका केन्द्रिय सदस्य हुन् भने उनी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार थिए।)

यो पनिः पहिलो खण्डः पार्टी एकता, विवाद र विभाजनको इतिवृत्तान्त


प्रतिक्रिया दिनुहोस्