अफ्रिकामा कोरोनाको ‘भयानक’ भेरिअन्ट भेटियो, खोपले काम गर्न नसक्नेभन्दै वैज्ञानिक चिन्तामा

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १० : ५३


दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट तीव्र रुपमा फैलिरहेको पत्ता लागेको छ।

नयाँ भेरिअन्टको पहिचान गरेका दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले यो भाइरसको उत्परिवर्तन धेरै सङ्ख्यामा भएको बताएका छन्।

उनीहरूले अहिले प्रयोगमा आएका कोरोनाभाइरसविरुद्धका खोपहरू ती उत्परिवर्तित भाइरसविरुद्ध प्रभावकारी नहुनसक्ने पनि बताएका छन्।

यो भेरिअन्ट B.1.1.529 हो र यसलाई ग्रीक नाम अल्फा र डेल्टा भेरिअन्टजस्तै विश्व स्वास्थ्य सङ्गठनले कुनै कोड नाम शुक्रवार दिने ठानिएको छ।

पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन।

विश्व स्वास्थ्य संगठनका विज्ञहरू यसबारे दक्षिण अफ्रिकी अधिकारीहरूसँग छलफल गर्नका लागि शुक्रवार उनीहरूसँग भेट्दैछन्।

यसैबीच, ब्रिटेनले दक्षिण अफ्रिकी छ वटा देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

ब्रिटिश स्वास्थ्यमन्त्री शाजिद जावेदले यूकेमा ती उत्परिवर्तित भाइरसका बिरामी नदेखिए पनि वैज्ञानिकहरू गहिरो रूपमा चिन्तित रहेको बताएका छन्।

बीबीसी संवाददाता जेम्स ग्यालहरले अहिलेसम्म भएका भाइरसका उत्परिवर्तनमध्ये यो पछिल्लो उत्परिवर्तन सबैभन्दा अत्यधिक भएको बताएका छन्।

उनले भाइरसमा उत्परिवर्तन भएको सूची लामो भएका कारण एकजना वैज्ञानिकले यसलाई ‘भयानक’ भनेर व्याख्या गरेको बताए।

अर्का वैज्ञानिकले चाहिँ यो भेरिअन्ट आफूहरूले देखेमध्येको खराब भएको बताएका छन्।

नयाँ भेरिअन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ। तर यसको सङ्क्रमण थप क्षेत्रमा फैलिएका सङ्केतहरू पनि छन्।


प्रतिक्रिया दिनुहोस्