क्रिस्टल फाइनान्समा ठगी गरेको आरोमा आमा–छोरा पक्राउ

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडाैं । आफ्नो जग्गाको अत्यधिक मूल्यांकन गराई कर्जा लिएर फाइनान्स कम्पनीलाई ठगी गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएका आमा–छोरा पक्राउ परेका छन् ।

क्रिस्टल फाइनान्स ठगी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाकी ५८ वर्षीया लक्ष्मीदेवी पोखरेल र उनका ३३ वर्षीय छोरा सञ्जय पोखरेल पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले सञ्जयलाई काठमाडौंको गौशालाबाट तथा लक्ष्मीदेवीलाई पर्साबाट पक्राउ गरेको हो । दुवैलाई अदालतले दोषी ठहर गरी सजाय सुनाइसकेकाले कारागार चलान गरिएको सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए ।

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा सञ्जयलाई तीन वर्ष कैद र एक करोड ९५ लाख २६ हजार जरिवाना तथा लक्ष्मीदेवीलाई दुई वर्ष कैद र ७९ लाख २२ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

२१ मंसिर ०७१ मै अदालतले दोषी ठहर गरे पनि उनीहरू फरार रहँदै आएका थिए । सञ्जयका भाइसमेत सोही मुद्दामा जेलमै छन् । छोराहरूले आमाको नाममा रहेको जग्गा धितोमा राखेर कर्जा लिँदा वृद्ध अवस्थामा आमासमेत जेल बस्नुपर्ने अवस्था आएको प्रहरी अधिकारीहरू बताउँछन् । फाइनान्सकै मुख्य सञ्चालक दिव्यकुमार श्रेष्ठलगायतको मिलेमतोमा कर्जा दुरुपयोग गरी कम्पनीभित्र करोडौँ हिनामिना भएको थियो । 
-नयाँ पत्रिका दैनिक


प्रतिक्रिया दिनुहोस्