अन्नपूर्ण बेसक्याम्पमा व्यवसायिक उडान रोक्ने निर्णय कार्यान्वयन भएन

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडाैं । कास्कीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टरको व्यावसायिक उडान रोकेको अघिल्लो आर्थिक वर्षको शुरुवातमै हो ।

चालू आर्थिक वर्षमा पनि हेलिकोप्टरको व्यावसायिक उडान रोक्ने गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ । तर, यस अवधिमा हेली कम्पनीहरूले बेसक्याम्पमा व्यावसायिक उडानलाई झनै तीव्रता दिएको पाइएको छ ।

पर्यटकीय सिजन शुरु भएपछि १ अक्टोबरबाट दैनिक २० को हाराहारीमा हेलिकोप्टरको उडान र अवतरण हुने गरेको छ । आधार शिविरमा झण्डै सयको हाराहारीमा हेलिकोप्टरका यात्रु पुग्ने गरेको पोखरा विमानस्थलको तथ्यांकमा उल्लेख छ ।

सिम्रिक हेलिकोप्टर, प्रभु हेलिकोप्टर र एयर डाइनेस्टिकका हेलिकोप्टर एउटैले दैनिक पाँचदेखि आठपटकसम्म उडान भर्दै आएका छन् । अन्य केही हेली कम्पनीले समेत फाट्टफुट्ट उडान भर्न लागेको पोखरा विमानस्थलका सूचना अधिकृत कासीनाथ पौडेलले जानकारी दिए । ‘एउटाले दैनिक कम्तीमा पाँच उडान गरेको छ, त्यस हिसाबले हेर्ने हो भने अहिले अन्नपूर्ण बेसक्याम्पमा दैनिक करिब २० उडान हुने गरेको देखिन्छ,’ पौडेलले भने ।

एउटा उड्न पाएको हुन्न, अर्को हेलिकोप्टर आइपुग्छ
अन्नपूर्ण बेसक्याम्पमा अहिले अत्यधिक हेलिकोप्टर उडानका कारण आकासमा ट्राफिक जाम हुने गरेको लामो समयदेखि त्यस क्षेत्रमा पर्यटक गाइडको काम गर्दै आएका गंगाबहादुर घलेले बताए । ‘एउटा बसेर उड्न पाएको हुन्न, अर्को हेलिकोप्टर पुगिसकेको हुन्छ, ल्याण्ड गर्न नपाएर तीन–चार फन्का लगाएपछि मात्र ल्याण्ड गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

२५ वर्षदेखि गाइड पेसामा रहेका घलेले हिमाल हेर्दै र रम्दै पुग्ने पर्यटकलाई माछापुच्छ्रे बेसक्याम्पबाट अगाडि बढेदेखि नै हेलिकोप्टरको आवाजले तनाव दिने गरेको बताए ।

पदयात्रामा जाने पर्यटकले हिमाली क्षेत्रमा काठमाडौं, पोखराका एयरपोर्टमा जस्तो ध्वनि प्रदूषण गरेर के गर्न खोजिएको हो भन्ने प्रश्न गर्न थालेको उनले जानकारी दिए । ‘यस्तो सुन्दर ठाउँ बिगार्ने भए, किन पर्यावरणको ख्याल नगरिएको होला भन्ने जस्ता प्रश्न र चासो विदेशी पर्यटकको छ,’ उनले भने । पदयात्राका पर्यटकले एक अर्कासँग बोलेको कुरा नै सुन्न नपाउँदा पदयात्राको आनन्द नै हराएको उनको टिप्पणी छ ।

बेसक्याम्पको आकाशमा एयर ट्राफिक जाम हुने गरेको अन्नपूर्ण बेसक्याम्प रहेको अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङको भनाइ छ । ‘तारन्तार आउँछन्, एउटा रोकेर उड्न पाएको हुन्न अर्को आकासमा फन्को मार्छ,’ उनले भने । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटा दैनिक त्यसरी हेलिकोप्टरको उडानले भोलिको पुस्तालाई त्यस क्षेत्रको महत्व नै दर्शाउन कठिन हुने बताउँछन् ।

विश्वमै प्रसिद्ध अन्नपूर्ण राउण्ड ट्रेकिङलाई हेली ट्रेकका रूपमा विकास गरिनु अत्यन्त दुखद् र दूर्भाग्यपूर्ण रहेको उनको टिप्पणी छ । आफूहरूले लामो समयदेखि आवाज उठाउँदा समेत क्षणिक फाइदाका लागि हेली कम्पनी र नीति निर्माता लाग्नु लाजमर्दो अवस्था रहेको उनले बताए ।

गाउँपालिकाले निषेधको निर्णय गर्‍यो, तर कार्यान्वयन गराउन पहल नै गरेन
अन्नपूर्ण गाउँपालिकाकाले बेसक्याम्पमा हेलिकोप्टरको व्यावसायिक उडान निषेधको निर्णय गरे पनि त्यसको कार्यान्वयनका लागि औपचारिक प्रयास नै नगरेको पाइएको छ । सञ्चारमाध्यमबाट सुनिए पनि आफूकहाँ अहिलेसम्म गाउँपालिकाले औपचारिक रूपमा पत्र नलेखेको पोखरा विमानस्थलका प्रमुख भोला गुरागाईंले जानकारी दिए ।

‘अन्नपूर्ण बेसक्याम्पमा गाउँपालिकाले हेलिकोप्टरको व्यावसायिक उडान निषेध गरेको भनेको पत्रपत्रिकामार्फत त्यति वेला थाहा पाएको हो,’ उनले भने, ‘अहिलेसम्म त्यस्तो कुनै औपचारिक पत्र हामीले पाएका छैनौं ।’

गाउँपालिकाका अध्यक्ष कुँवरले हेलिकोप्टरको व्यावसायिक उडान रोक्ने निर्णय आएपछि आफूलाई निकै दबाब आएकाले अन्य निकायमा पत्र नपठाएको उल्लेख गरे । ‘यो निर्णय गरेपछि निकै तनाव झेल्नुपर्‍यो, ठूला नेता र व्यवसायीकै फोन पनि आए,’ उनले भने, ‘तर, त्यसलाई झेल्दै निषेध भने गराएरै छाड्छौँ ।’ अझै पनि आफूले सरोकारवालासँग निरन्तर छलफल भने चलाइरहेको उनको भनाइ छ ।

यस्तो छ असर
हिमाली क्षेत्रमा पाइने हिमचितुवा, भालु, घोरल र कस्तुरीलगायत वन्यजन्तु अहिले हेलिकोप्टरको नियमित उडानले गर्दा देखिन छाडेको अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिम गुरुङको दाबी छ ।

ध्वनि प्रदूषण, वन्यजन्तुको संरक्षण र पर्यावरण संरक्षणका लागि अन्नपूर्ण बेसक्याम्पमा व्यावसायिक उडान हुन नहुने भन्दै स्थानीयले आवाज उठाएकै कारण गाउँपालिकाले व्यावसायिक उडानलाई निषेध गरेको हो । हेलिकोप्टर उडान र अवतरणले हिमताल फुट्ने, हिउँ पग्लनेलगायत असर पर्न सक्ने भूगोलविद् प्रा.डा. कृष्ण केसीको भनाइ छ । 
-नयाँ पत्रिका दैनिक


प्रतिक्रिया दिनुहोस्