प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने, प्रचण्डको जाने–नजाने टुंगो छैन

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  १० : ४८


नेकपा एमालेको १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले चितवन पुगेर एमाले महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्नेछन्। देउवा हेलिकोप्टरबाट चितवन जाने कार्यक्रम तय भएको छ।

नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर देउवा दिउँसो १ः१५ बजे काठमाडौं फर्कनेछन्।

तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी लोकतान्त्रिकका महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने टुङ्गो लागि सकेको छैन।

अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको एमालेले जनाएको छ। महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत चितवन आउँदैछन्।

एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेको छ। महाधिवेशन यही मङ्सिर १० गते देखि १२ गतेसम्म हुँदैछ। महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ। बन्दसत्र सौराहामा गरिँदै छ।


प्रतिक्रिया दिनुहोस्