बिहान आकाश नखुल्दा आन्तरिक उडानहरु प्रभावित, आन्तरिक टर्मिनलमा यात्रुको चाप बढ्यो

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ९ : ०८


काठमाडौं। आज बिहीबार बिहान राम्रोसँग आकाश नखुल्दा अधिकांश आन्तरिक उडानहरु प्रभावित भएका छन्।

हुस्सु र कुहिरोका कारण भिजिबिलिटी कम हुँदा काठमाडौंबाट हुने उडानहरु हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ।

यसरी समयमै उडान नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरुको चाप बढेको छ।

बिराटनगर, भरतपुर, सुर्खेत, पोखरा, धनगढी लगायत क्षेत्रमा आज बिहान निर्धारित उडानमा ढिलाइ भएको हो।

आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने जारी रहेको छ।

आन्तरिक उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी ३ हजार मिटरभन्दा बढी हुनुपर्छ।


प्रतिक्रिया दिनुहोस्