ससुराली जाँदाजाँदै बाटैमा श्रीमतीको हत्या, यसरी खुल्यो रहस्य

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ११ : ५६


वीरगञ्ज । पर्सामा ससुराली हिँडेका श्रीमानले श्रीमतीको बाटैमा हत्या गरेका छन्। 

पर्साको जिराभवानी गाउँपालिका-३ परसवाकी १९ बर्षीया निपुदेवीको उनकै श्रीमानले हत्या गरेका हुन्। २८ वर्षीय केदार भन्ने रामबाबु हजरा द्सादले श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। 

केदार सालीको गौनामा सहभागी हुन श्रीमतीलाई लिएर भारतको बेतिया जिल्ला बरवा पञ्चायत-१० भंगवा थानास्थित ससुराली हिँडेका थिए। तर बाटोमा सामान्य विवाद भएपछि उनले बाटैमा श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ। 

यसरी बन्यो घटनाको योजना 

ससुराली हिँडेका केदारको श्रीमतीसँग बाटोमै विवाद भयो। त्यसपछि उनी मोटरसाइकलमा पेट्रोल सक्किएको निहुँ पारेर श्रीमतीलाई त्यही छोडेर त्यहाँबाट निस्किए। त्यसपछि उनी नजिकै पुगेर १५ रुपैयाँमा चक्कु किनेर श्रीमती भएको स्थानमा फर्किए। 

त्यसपछि उनले श्रीमतीलाई ओरिया खोलाको छेउमा रहेको वनतुलसीको झाडीमा लगेर घाँटी रेटेर हत्या गरेको प्रहरी सामु बयान दिएका छन्।

हत्यापछि उनले श्रीमतीको शव त्यहीँ फालेर हिँडेका थिए। त्यसपछि उनले श्रीमती हराएको भन्दै खोजी गर्दै हिँडेका थिए। तर अनुसन्धानका क्रममा प्रहरीले निपुको हत्या उनकै श्रीमानबाटै भएको पत्ता लगाएको हो। 


प्रतिक्रिया दिनुहोस्